चार सय किलो साग बेचेर आठ हजारभन्दा बढी आम्दानी

373
बनेपा  / बारीमा उत्पादन गरेको करिब चार सय किलो साग बेचेर नाग्रेगगर्चेकी नानीमाया लामाले आठ हजारभन्दा बढी आम्दानी गर्नुभयो । चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा सञ्चालन भएको सिर्जनशील कृषि सहकारी संस्थाले साग किनिदिन थालेपछि नानीमाया मात्र हैन गाउँका सबै किसान साग उत्पादनमा आकर्षित भएका छन् । सहकारीले गाउँलेबाट साग किनेर गुन्द्रुक बनाएर बेच्ने गरेको छ ।

आफूले बारीमा उत्पादन गरेको साग आफूले खाने र बढी भएको नबिकेर खेर जाने हुँदा निसार बन्ने किसान आजभोलि सहकारीले साग किन्न थालेपछि ढुक्क भएर साग उत्पादन गर्न थालेका छन् । खेरा जाने गरेको साग बेचेर पैसा आउने भएपछि गाउँले सबै साग खेतीतर्फ आकर्षित भएको स्थानीय राजीव लामाले  जनाउनुभयो । उहाँका अनुसार अहिले गाउँलेले प्रतिघर कम्तीमा तीनरचार सय किलो साग बेच्ने गरेका छन् ।

सहकारी संस्थाले आम्दानीमा वृद्धि र शेयर सदस्यको आर्थिक उपार्जनमा सहयोग पुर्याउने ध्येयले सागबाट गुन्द्रुक बनाइ बिक्री गर्न शुरु गरेको हो । साग सङ्कलन गरी गुन्द्रुक बनाउने कामलाई तीव्रता दिएको संस्थाका अध्यक्ष ननिता लामाले जानकारी दिनुभयो । संस्थाले गाउँमा तरकारी सङ्कलन केन्द्र स्थापना गरी दैनिकरुपमा साग सङ्कलन गर्दै आएको छ । संस्थाले सागको प्रतिकिलो २० का दरले खरिद गर्ने गरेको छ ।

माया तामाङ र प्रिती तामाङलाई महिनाको दश हजार दिने गरी संस्थाले रोजगारीसमेत दिएको छ । उहाँहरुको काम साग सङ्कलन गर्ने, केलाउने, पखाल्ने, गुन्द्रुक बनाउने, सुकाउने र प्याकिङ गर्ने रहेको अध्यक्ष लामाले  जनाउनुभयो ।

स्थानीय शशी तामाङले काठमाडौँमा होटलका लागि एक लाखको गुद्रुक माग गरेपछि गुन्द्रुक बनाउने काम अहिले धमाधम जारी रहेको छ । अध्यक्ष लामाकाअनुसार सागको गुन्द्रुकसँगै फर्सी, स्कुस र मुलाको सुकुटी बनाउने तयारी अगाडि बढेको छ । उत्पादन सबै खरिद गर्ने सम्झौता भइसकेकाले कुनै समस्या नरहेको संस्थाले जनाएको छ । यससँगै सहकारीले संस्थामा आवद्ध किसानका लागि आवश्यक मल, बीउ सुपथ मूल्यमा बिक्री गर्ने र बचत तथा ऋणलाई पनि सँगसँगै लाने गरी कयौँ योजना अघि सारेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here