काठमाडौं । तीलगंगा आँखा प्रतिष्ठानले मधुमेह दिवसको अवसरमा मधुमेहले आँखामा पार्ने असरबारे सचेतना जगाउने उद्देश्यले सचेतना सप्ताह मनाएको छ। मधुमेह सेवाको पहुँच अहिले नभए कहिले? भन्ने नाराका साथ प्रतिष्ठानले कात्तिक २८ देखि मंसिर ४ सम्म मधुमेहका असरसम्बन्धी सचेतना सप्ताहको आयोजना गरेको हो।
साताव्यापी कार्यक्रममा प्रतिष्ठानलगायत प्रतिष्ठानको शाखा, सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रमा मधुमेहसम्बन्धी निशुल्क उपचार सेवा प्रदान गरिएको थियो। जसमध्ये ९९ जनाले निःशुल्क परीक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन्।
सप्ताहमा प्रतिष्ठानले मधुमेहले आँखामा पार्ने असरबारे अस्पतालभित्रबाट जानकारीमूलक सामाग्री वितरण गर्नुका साथै टेलिभिजन, रेडियो र सामाजिक सञ्जालबाट विभिन्न सचेतनामूलक सामाग्री प्रसारण गरेको थियो।
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन्। अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मृगौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ। मृगौलाले काम नगर्ने जोखिम मधुमेहका विरामीमा १० गुणा बढी हुन्छ।
संसारमा कूल अन्धोपनामध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यही डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ।
मधुमेहले आँखामा असर ‘डायवेटिक रेटिनोपेथी’सम्बन्धी जनचेतना जगाउनका लागि सन् २०१४ देखि नै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले ‘डायवेटिक रेटिनोपेथी दिवस’ मनाउँदै आएको छ। विगत १५ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दै आएको छ।
मधुमेह रोगको पहिचान हुनासाथ डाक्टरको सल्लाहअनुसार नियमितरुपमा आँखाको परीक्षण गराउन चिकित्सकहरुले सुझाएका छन्। आँखाको पर्दा रोग विशेषज्ञ डा. रवा थापाले मधुमेहले आँखामा पार्ने असरसम्बन्धी प्रस्तुत गरेका थिए।
सो अवसरमा कार्यक्रम निर्देशक नविन राई, वरिष्ठ व्यवस्थापक भास्कर गौतम, आँखाको पर्दा रोग विशेषज्ञ डा. सञ्जिता शर्मा, आँखाको पर्दा रोग विशेषज्ञ डा. सुष्मा दुवाल नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वयना लगायतले बोलेका थिए।
















