आजदेखि राप्रपा पार्टी एक ढिक्का भएर अघि बढने : लिङ्देन

117

काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आजदेखि पार्टी एक ढिक्का भएर अघि बढ्ने बताएका छन्। मत परिणाम सार्वजनिक भएपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले अब राष्ट्रप्रमुखका रुपमा राजा र सोझै जनताले चुन्न पाउने प्रधानमन्त्रीय प्रणालीका लागि राप्रपाले अभियान अघि बढाउने बताए।

नयाँ राप्रपा निर्माणका लागि जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उनले अब परिणाम आफूले देखाउने बताए। ‘राप्रपा जीवनको कमजोर अवस्थामा छ। यसबाट जुरुक्कै उठाएर देशको अग्रणी पार्टी बनाउनु छ,’ उनले भने, ‘हामीले राजसंस्था र हिन्दूराज्य चाहियो भनेर सडकमा भएकालाई जोडन सकेका छैनौं। त्यसतर्फ ध्यान दिनुपर्छ।’

उनले राप्रपालाई गतिशील बनाउने पनि बताए। राप्रपाका मुद्दालाई समाप्त हुन नदिने उनको भनाइ छ। ‘गतिहीन निष्क्रिय बनाएर लगिँदैन। राप्रपाको मुद्दालाई समाप्त हुन नदिन नेतृत्व परिवर्तनलाई लिएर अनेक आशंकाका बाबजुत यो काममा सफल भएका छौं,’ उनले भने, ‘हामीलाई जित्नै पर्ने वाध्यता थियो त्यसका लागि हिजो हामीले जुन प्रकारको प्रतिस्पर्धा गर्यौं त्यसले गुट बन्ने हो कि पार्टी विभाजनमा जाने हो कि भन्ने आशंका पनि थिए आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो /भयो आजबाट हामी एक छौं कोही कुनै पक्षका छैन।’

नेतृत्व परिवर्तनका अनेकौं आयाम र उपलब्धिभित्र हिजोका दिनसम्म अघिल्ला महाधिवेशनमा एउटा नेताको कार्यकर्ता र मान्छे भएर जाने गरिए पनि आजबाट सबै राप्रपाका मानिस भएर जाने उनले बताए। ‘आजबाट कुनै गुट छैन कोही कसैको मानिस होइन सबै राप्रपा हुन्। हामी व्यवहारत: पनि त्यसै हिसाबले अघि जान्छौं,’ उनले भने, ‘राप्रपाका तमाम नेता कार्यकर्ताको शिर झुकाउने कुनै काम हुन दिइने छैन।’

नविन राप्रपा निर्माणमा एक साथ मिलेर अघि बढ्ने भन्दै आफूहरुले नेतृत्व परिवर्तनका लागि उम्मेदवारी दिएको र त्यसमा सफलता हासिल भएको उनले बताए। ‘२०४६ यता नेपालको पुस्तान्तरण नगरी, विस्थापित नगरिकन राजनीति सुधार हुँदैन भन्ने ठूलो पार्टीका पुस्तान्तरणका कुरा गर्नेहरुलाई पनि राप्रपाले नेतृत्व लिएर सन्देश दिएको छ,’ उनले भने, ‘यो आन्तरिक चुनाव हो कुनै प्रकारको विजय जुलुस र जिन्दावादका नाराह लगाइरहनु आवश्यक छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here