विश्व हिन्दु महासंघकोसम्मेलन शुरु

176

काठमाडौं । मंसिर २४ गतेदेखि काठमाडौंको कमलपोखरी ज्ञानेश्वर स्थित महेश्वरी भवनमा विश्व हिन्दु महासंघकोसम्मेलन शुरु भएको छ । अन्तर्राष्ट्रिय महासम्मेलनको नाम दिइएको सो कार्यक्रममा विगतकामा जस्तै यस पटकमा पनि दरवारको हस्तक्षेप हुने आशंका गरिएको छ । ख्याल रहोस् यस अघिका सम्मेलनहरुमा पनि दरवारले तोकेर फलानोलाई अध्यक्ष बनाउनु भन्ने गथ्र्यो । र यसपटक पनि दरबारले महासंघमा महासचिव रहेकी अस्मिता भण्डारीलाई अध्यक्ष गराउन निर्देशन दिएको बुझिएको छ ।

तर, दरवारको हस्तक्षेपलाई धर्मक्षेत्रले अस्वीकार गर्ने साधुसन्त तथा धर्माचार्यहरुले बताएका छन् । विश्व हिन्दु महासंघमा कर्णेन जर्नेलहरुलाई अध्यक्ष बनाउँदै आएको दरवारले यस पटक भने कर्णेन जर्नेलको अभावमा दरवारको निकट रहेकी मानिने अस्मितालाई अध्यक्ष बनाउन निर्देशन गरेको बुझिन्छ । राजा ज्ञानेन्द्रका सचिव सागर तिमिल्सिनाले महासचिवका पदाधिकारीहरुलाई भेटेर यस पटक अस्मिता भण्डारीलाई अध्यक्ष बनाउन लविङ्ग गरेका छन् ।

अर्कोतर्फ महासचिव अस्मिता भण्डारीले आफ्नो फेवरका प्रतिनिधिहरु मात्रै मनोनित गर्ने नियतले सम्मेलन हुनुभन्दा बहत्तर घण्टा अघि प्रतिनिधिहरुको नामावली टाँस गर्नपर्नेमा २४ गते साँझसम्म पनि सो नगरिएको बताइएको छ । २५ गते अध्यक्षको निर्वाचन हुने कार्यक्रम रहेको कार्यक्रम तालिका भने टाँस गरिसकिएको छ । यसै सन्दर्भमा असन्तुष्टि प्रकट गर्दै विश्व हिन्दु युवा संघले एक विज्ञप्ति समेत जारी गरेको छ । संघका अध्यक्ष ऋषिकेश जङ्ग शाहद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा मतदातालगायतको बारेमा अविलम्ब प्रकाशन गर्न अपिल समेत गरिएको छ ।

हिन्दु धर्म र राजसंस्थालाई एउटै अर्थमा राखेर राजनीतिक चलखेल गर्न खोजिरहेको दरवारले सो सम्मेलनको खर्च व्यहोर्ने समेत बुझिएको छ । हालै सम्पन्न राप्रपाको महाधिवेशनको बारेमा समेत हस्तक्षेप गरेको भनिएको दरवारले विश्व हिन्दु महासंघमा पनि ठाडो हस्तक्षेप गर्नुलाई हिन्दु धर्मप्रतिको नाङ्गो चरित्रको रुपमा धेरैले औंल्याएका छन् । यसको बारेमा जान्न बुझ्न चाहने मिडिया एवं नागरिकले यो मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंको ज्ञानेश्वर कमलपोखरी स्थित महेश्वर भवनमा गएर विभिन्न ठाउँबाट आएका प्रतिनिधि तथा पर्यवेक्षसँग सोधपुछ र प्रतिक्रिया लिएर पनि जान्न सकिन्छ ।

महासंघको परम्परा अनुसार सम्मेलनको उद्घाटन सत्रभन्दा पहिला ओमकार परिवारका संप्रदायहरुका विशिष्ट धर्म गुरुहरुको संलग्नतामा हुने धर्म सभाको बैठक २४ गते दिउसो एक बजेबाट शुरु भयो । सभामा प्रमुख अतिथिको रुपमा नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती आमन्त्रित हुनुहुन्थ्यो । विश्व हिन्दु महासंघ जस्तो विशिष्ट संस्थाको धर्मसभामा बोलाइएका धन्नै तीन दर्जन धर्माचार्य, पिठाधिश, मठाधिश, भिक्षुहरुलाई महासंघले एउटा मालाले पनि स्वागत नगरी चटाइविनाको घाटमा बसालेर अपमानजनक व्यवहार गरेको देखियो । भन्दा धर्म सभा भन्ने तर साधुसन्तको दुव्र्यवहार गर्ने यो कस्तो हिन्दु महासंघ हो ? सहभागीहरुले आपसमा कुरा गरेको सुनियो ।  ठूलो अपमानका बीचपनि साधु सन्त धर्माचार्य गुरुहरु कार्यक्रमको समयावधी भरी बसेर आफ्नो पालोमा आफ्ना विचार राखे ।

विश्व हिन्दु महासंघजस्तो संस्थामा यस्तो खालको गतिविधि हुन्छ भने कसरी धार्मिक क्षेत्रमा सुधार आउँछ, सरोकारवालाहरुले प्रश्न गर्न थालेका छन् । २४ गतेको धर्म सभामा बोल्ने देशविदेशका गुरुहरुले पनि महासंघमा धार्मिक ज्ञान भएको धार्मिक निष्ठा भएको व्यक्तिलाई नेतृत्वमा ल्याउन सुझाव दिएका छन् । धर्म सभामा बोल्ने अधिकांश वक्ताहरुले महासंघको नेतृत्त्वको कडा आलोचना गरेका थिए । सम्मेलनको थप कार्यक्रम २६ गतेसम्म चल्ने बताइएको छ ।

धार्मिक पक्षले धार्मिक निष्ठाकै व्यक्तिलाई अध्यक्षको अपेक्षा गरेपनि २४ गते साँझसम्म सदस्यता वितरण गरेर भएपनि आफू अनुकूलका व्यक्तिहरुलाई प्रतिनिधि बनाएर अन्तिममा जेजसरी हुन्छ आफू अध्यक्ष बन्ने सुरमा महासचिव अस्मिता भण्डारी रहेको सम्मेलनको वातावरणले व्यक्त गरेको छ । एक सय बाइस राष्ट्रको सहमतिमा गठन गरिएको महासंघ क्रमशः दुईचारवटा देशका मात्रै प्रतिनिधि बोलाउने हैसियतमा पुगेको प्रति पनि धर्मसभाका वक्ताहरुले कडा आलोचना गरेका छन् । फेरि असफल नेतृत्वलाई नै अध्यक्ष बन्ने मौका दिने हो भने केही वर्षमा विश्व हिन्दु महासंघ नेपालको पनि दरवारको आसेपासेहरुभित्रै सिमित हुने अनुमान गर्न गाह्रो देखिदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here