काठमाडौं । नेपालमा केही महिनायता कोभिड–१९ को संक्रमण घटिरहेको बेला पछिल्लो साता थपिने संक्रमितको संख्या बढेको छ । यही मंसिर २१ देखि २७ गतेसम्म झन्डै एक हजार ९०० संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार यो एक सातामा पीसीआर विधिबाट ५५ हजार ४४५ र एन्टिजेनबाट १९ हजार ६१८ वटा स्वाब नमुनाको परीक्षण गरिएको थियो । त्यसमध्ये पीसीआरबाट एक हजार ७०५ र एन्टिजेनबाट १९१ को नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या नौ लाख २१ हजार २४५ पुगेको छ ।
पछिल्ला केही दिनयता दैनिक थपिने संक्रमितको संख्या ३०० भन्दा माथि छ । त्यो अघिल्लो साताको तुलनामा झन्डै १०० का दरले बढेको होे ।
यो एक साताको अवधिमा कोभिड–१९ संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । दुई हजार २५३ जना संक्रमणमुक्त भएका छन् ।
सोमबार (हिजो)सम्म नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या पाँच हजार ८२४ छ । त्यसमध्ये ३१६ जना अस्पतालमा उपचाररत छन् । बाँकी होम आइसोलेसनमा छन् ।


















