कांग्रेसको १४औं महाधिवेशन सकियाे

145

काठमाडाैं ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरू हटाइएको छ ।

बुधबार १४औं महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरू केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो ।

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरू हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले जनाए ।

उनले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीहरूको सरसफाइ थालिएको जनाए । नेता शर्माले भने, ‘प्रचारप्रसार सामग्रीहरू जति हामीले टाँसेका थियौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको क्रममा प्रचारप्रसार भयो । केन्द्रीय प्रचारप्रसार समितिले उपत्यकाव्यापी जुन एक हप्ते प्रचार अभियान गरेको थियो । त्यसक्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्रीहरू केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गतका सबै साथी मिलेर सरसफाइ गर्ने क्रममा लागेका छौं । प्रदर्शनीमार्गमा हामीले सबै सामग्री सफाइ गरेका छौं ।’

मंसिर २४ गतेबाट सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ । अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रिय सदस्यहरूको मतगणना भने बाँकी नै छ । १४औं पार्टी केन्द्रीय महाधिवेशनबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा विजयी भएका छन्। पहिलो चरणमा नेपाली कांग्रेसको विधानअनुसार सभापतिका ५ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणको मतदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here