साफ यू-१९ महिला फुटबलमा नेपाल श्रीलंकालाई खेलमा ६-० गोल अन्तरले विजयी

67

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध नेपाल विजयी भएको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बुधबार भएको खेलमा नेपाल ६-० गोल अन्तरले विजयी भएको हो ।

नेपालको जितमा रश्मी कुमारी घिसिङले २, सविता रानामगर, मेनुका आलेमगर, रजनी थोकर र सलोनी रानामगरले १-१ गोल गरे । खेल अवधिभर नेपाली टिमले श्रीलंकन टोलीलाई दबाबमा राख्यो । खेलको पहिलो हाफमै नेपालले ३ गर्‍यो । खेलको पाँचौ मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलान् । सातौं मिनेटमा सबिता राना मगरले गोल गर्दै नेपाललाई २-० को दोब्बर अग्रता दिलाउन सफल भइन् ।

खेलको ४३ औं मिनेटमा मेनुकाकुमारी आले मगरको गोलबाट नेपालले ३-० को अग्रता पायो । नेपालले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । दोस्रो हाफमा नेपालले चौथो गोल ४८ औं मिनेटमा गर्‍यो । चौथो गोल रजनी थोकरले गरेकी हुन् ।

नेपालका लागि पाँचौ गोल ५३ औं मिनेटमा सलोनी रानामगरले गरिन् । नेपालका लागि छैटौं गोल फेरि रश्मी घिसिङले गरिन् । उनले ८५औं मिनेटमा रश्मीले गोल गर्दै टिमको शानदार जित पक्का गरिन् । आजको जितसँगै नेपालले इतिहास रचेको छ । नेपालले साफ च्याम्पियनसिपमा पहिलोपटक श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै इतिहास रचेको हो ।

यसअघि नेपालले श्रीलंकालार्य यति फराकिलो अन्तरले हराउन सकेको थिएन । आजको जितसँगै नेपालको दुई खेलबाट ४ अंक पुगेको छ । ५ राष्ट्रले खेलिरहेको यो प्रतियोगिताअन्तर्गत अब नेपालले तेस्रो खेलमा भुटानको सामना गर्नेछ । भुटान र नेपालबीचको खेल २ पुसमा हुनेछ ।

नेपालले चौथा तथा अन्तिम लिग खेलमा भारतको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल ४ पुसमा हुनेछ ।राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाको सहभागिता रहेको छ । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here