मगर मुक्ति मोर्चाद्वारा एमसीसी खारेजका बिषयमा ध्यानाकर्षण गराउँदै प्रमलाई ज्ञापनपत्र

382

पाल्पा । मगर मुक्ति मोर्चा नेपालले एकै दिन देशभरबाट जिल्ला प्रशासन कार्यालय मार्फत एमसीसी खारेज लगायत समसामयिक बिषयमा ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पाल्पा जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त मार्फत ज्ञापनपत्र पठाइएको मोर्चाका केन्द्रीय महासचिव इन्द्र कुमार घर्ती मगरले जानकारी गराउनुभयो ।  ज्ञापनपत्रमा एमसीसी परियोजना नेपालमा जर्वजस्त लागू गर्ने प्रयास भएकोमा उक्त कार्य रोक्न माग गरिएको छ ।

यो परियोजना अमेरिकाको नेपाललाई नवउपनिवेश बनाउने खेल हो, जसलाई आम नेपाली जनताले खारेज गरिसकेका छन् । तर संसदबाट पारित गरेर साम्राज्यबादका दलालहरु भित्रभित्रै षड्यन्त्रमा लागिपरेकोले यसको चौतर्फी बिरोध गनु अपरिहार्य रहेको उल्लेख छ ।  हाम्रो एकीकृत भुगोल अतिक्रमण र हस्तक्षेपबाट मुक्त गर्न अहिलेका सांसद र सरकारमा रहेका पार्टी र सरकारहरु हिचिकचाएके वा बिदेशी साम्राज्यबादको इशारामा चलेको प्रष्ट देखिदैछ ।

यसले आम नेपालीहरुमा आक्रोश फैलाएको र एमसीसी परियोजना लगायत नेपालको चारैतिर सिमा अतिक्रमणका सूचनाहरु सरकारलाई बुझाउँदा पनि कुनै पहल नभएको, लिपुलेक, लिम्पियाधुरा कालापानी समेटेर नेपालको नक्सा मात्र सदनबाट पास गर्न खोज्दा संसद नै भंग गर्नुपर्ने स्थिति देखापरेको समेत उक्त ज्ञापनपत्रमा उल्लेख छ ।  ज्ञापनपत्रमा जनजिविकाको प्रश्नहरु पनि जटिल बन्दै गएको, धनी र पैसा हुनेहरुले महंगा अस्पतालमा उपचार गराएपनि आम नागरिकले सारा सम्पत्ति बेचेर पनि उपचार गर्न नसक्ने अवस्था भएको, कोरोनाका कारण नेपालीहरु अप्ठेरोमा परेको बेला सरकार कमिसनमा अल्झिरहेको बिषय पनि उल्लेख छ ।

शिक्षामा बिभेद रहेको, उचित रोजगारी र अभावमा युवा परदेशिन बाध्य भएको बिषयमा पनि ज्ञापनपत्र मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । यी मागहरु पूरा नभए थप संघर्षका कदम चाल्ने केन्द्रीय अध्यक्ष निर बहादुर थापा मगरद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।  ज्ञापन पत्र बुझाउने कार्यक्रममा मोर्चाका केन्द्रीय महासचिव इन्द्र कुमार घर्ती मगर सहित जिल्ला अध्यक्ष गणेश राना, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष लंक राना, उपाध्यक्ष सुदिप बिक लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here