उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउँछुः मन्त्री चौधरी

119

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

मन्त्री चौधरीले केही समयअघि आएको बाढी र पहिरोको कारणले गर्दा बन्द भएको मेलम्चीको पानी काठमाडौंबासीलाई अस्थायी रुपमा भएपनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था मिलाउने जनाएका हुन्।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमा शुद्ध खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकालभित्रै काठमाडौंबासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने जनाए।

मन्त्री चौधरीले भने, ‘मैले एउटा उद्देश्य पक्कै लिएको छु। आज मेलम्चीको खानेपानी काठमाडौंबासीले खाइरहनु भएको थियो। तर आज बाढिपहिरोको कारणले बन्द भएको छ। संविधानमा मौलिक हकको रुपमा शुद्ध खानेपानी र सरसफाइ हरेक नागरिकको अधिकार भएको कारणले काठमाडौंबासीलाई यतिमात्रै म भन्न चाहन्छु–मेरो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी स्थायी त होइन तत्काल अस्थायी भएपनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाडौंबासीलाई खुवाउँछु भन्ने प्रतिवद्धता म व्यक्त गर्न चाहन्छु। आउँदो दिनमा मेलम्चीको खानेपानी तपाईंहरुले अवश्य मेरै कार्यकालमा खान पाउनु हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।’

त्यस अवसरमा मन्त्री चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासनसमेत दिए। उनले चन्द्रलोक प्रतिष्ठानजस्ता सामाजिक संघ, संस्थाहरुले समाजमा योगदान पुर्‍याएका व्यक्ति तथा संघ, संस्थाहरुलाई सम्मान गरेर राष्ट्र र जनताको हितमा काम गरिरहेको पनि जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here