संसदीय समितिको निर्देशन हुबहु पालना गर्छुः मन्त्री आले

132

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफूले हुबहु पालना गर्ने प्रतिवद्धता जनाएका छन्।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले समितिले दिएको निर्देशन पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

उनले सरकारी स्वामित्वमा रहेको १४८ रोपनी जग्गा तारागाउँ विकास समितिले आफ्नो नाममा पारेको र यसलाई फिर्ता गराउने सम्बन्धमा समितिले पनि निर्देशन दिएको उल्लेख गर्दै सो जग्गा फिर्ता ल्याउने प्रतिवद्धता पनि गर।

उनले भने, ‘तपाईंहरुले दिएका निर्देशन विगतमा के हो मलाई थाहा छैन, म हुबहु लागु हुनेगरी काम गर्नेछु। तपाईंहरुको निर्देशन पालना गर्नेछु भन्ने म प्रतिवद्धता जायर गर्न चाहन्छु। तारागाउँ विकास समितिको कुरा एकदमै गम्भीर छ। १४८ रोपनी जग्गा आफ्नो नाममा राखिएको छ। जबकी त्यो राख्नै पाइँदैन। यहाँहरुले पठाउनुभएको निर्देशनसमेत हेर्दाखेरी त्यो नेपाल सरकारको अधिनमा रहेको जग्गा कुनै व्यक्ति, कुनै प्राइभेट कम्पनी अथवा तारागाउँ रेजेन्सीमा त्यो राख्न मिल्दैन। तपाईंहरुले जुन मलाई निर्देशन दिनुभएको छ, हामी यसलाई हुबहु अगाडि बढाउने र नेपाल सरकारको जग्गा फिर्ता ल्याउने कुरामा तपाईंहरु माननीयज्यूहरुको पनि सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु। तपाईंहरुले दिएको निर्देशन कार्यान्वयन गर्नेतिर म जानेछु भन्ने प्रतिवद्धता जनाउन चाहन्छु।’

मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट अभाव भएको बताए। विमानस्थल निर्माणका लागि ८ हजार ५० हेक्टर जमिन विमानस्थलको नाममा आइसकेको भएपनि बजेट अभावका कारण काम सम्पन्न हुने नसकेको उनले जानकारी दिए।

त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा रिठ्ठे डाँडाको कटान प्रक्रिया पनि छिट्टै अगाडी बढाइने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here