काठमाडौं । किसानका समस्या समाधान गर्न माग गर्दै सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन गरेको छ। राजधानीको माइतीघर मण्डलामा शनिबार दिउँसो जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका हुन्।
किसानहरुलाई मल, बीउ, सिंचाई लगायतको व्यवस्था गर्न उनीहरुको माग छ। उनीहरुले ‘मलखाद र बीउ को व्यवस्था गर, सिंचाईको व्यवस्था गर, हावाहुरी र वर्षाले बालीनालीमा भएको क्षति बापत राहत देऊ, उखु किसानको भुक्तानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। यस्तै पक्राउ परेका सिरहाको औरहीका किसानलाई रिहा गर्न पनि उनीहरुले माग गरेका छन्। केही दिनअघि औरही गाउँपालिकाले वितरणका लागि राखेको गहुँको बिउ वितरण गर्न ढिलो गरेपछि किसानले लुटेर लगेका थिए। उक्त घटनामा संलग्न केही किसान पक्राउ परेका थिए। उनीहरुलाई रिहा गर्न जनमत पार्टीको माग छ।


















