काठमाडौं । नेकपा एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालले सार्वजनिक सम्पतिको दुरुपयोग रोक्नका लागि आन्दोलन गर्ने भएको छ ।
पछिल्लो समयमा नारायणहिटी दरबार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र बिकाश कोषको धर्मशाला बतास ग्रुपले ब्यवसायिक प्रयोजनका लागि दुरुपयोग गरेको र यसका साथै देशका बिभिन्न स्थानहरुमा समेत राज्यलाई प्रभावित पारी सार्वजनिक जग्गा दुरुपयोग गरी रहेको बिषयमा संघको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष नरेश शाहीले बताए ।
बतास ग्रुप लगायत अन्य बिभिन्न ब्यवसायिक समुहहरुले देशका विभिन्न स्थानहरुमा सार्वजनिक सम्पत्तीको दुरुपयोग बिरुद्ध दबाब दिने उद्देश्यले संघका प्रवक्ता एंव उपमहासचिब सन्जिप राईको संयोजकत्वमा एक कमिटी गठन भएको छ ।
कमिटीको सदस्यमा रोशन थापा, फुर्वा लामा, दिपक दुवाडी, शिव श्रेष्ठ रहेका छन् । यो कमिटीले सार्वजनीक सम्पत्ती दुरुपयोग बिरुद्धको आन्दोलनलाई अगाडी बढाउँने र त्यस्ता सम्पतिको अध्ययन गर्ने संघले जनाएको छ ।
यसैबीच शुक्रबार संघका अध्यक्ष शाहीको नेतृत्वमा युवाहरुको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा उनीहरुले ऐतिहासिक एवं धार्मिक सार्वजनिक स्थलहरु दुरुपयोग हुनबाट रोक्नुपर्ने माग गरेका छन् ।
‘युवा संघले देशको सार्वजनिक सम्पत्तीको संरक्षण गर्नु दायित्व ठान्दछ र सो सम्पत्तीको दुरुपयोग तथा बिनाशका बिरुद्ध संघले पटक पटक आन्दोलनको कार्यक्रमहरु गर्दै आएको कुरा जगजाहेरै नै छ । सार्वजनिक सम्पतीको संरक्षका लागि पुन आन्दोलनमा उत्रिनुपर्दा हामी पछाडी हटदैनौं’ अध्यक्ष शाहीले भने ।
ऐतिहासिक स्थल नारायणहिटीलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताउँदै उनले महत्वपूर्ण इतिहास बोकेको क्षेत्र एउटा ब्यवसायिक रुपले होटल रेस्टुरेन्ट सन्चालन गर्ने कुरा कदापी स्वीकार्य हुन नसक्ने बताए ।
यस्तै मित्र राष्ट्र भारतले पशुपतिको दर्शनमा आउने तिर्थालु तथा धार्मिक पर्यटकको सुबिधाको लागि निर्माण गरेको धर्मशाला ब्यावसायिक प्रयोजनको लागी भाडामा दिने कुरा लज्जाको बिषय भएको प्रवक्ता राईले बताए ।
सार्वजनिक जग्गामा स्थायी संरचना निर्माण गर्न मिल्दैन तर पनि नारायणहिटी र पशुपती क्षेत्रको उक्त धर्मशालामा स्थायी संरचना निर्माण गर्ने तथा नारायणहिटीका महत्वपुर्ण तथा दुर्लभ सम्पदाहरुको बिनास गर्न खोजिएको आरोप युवा संघले लगाएको छ ।
















