काला जातिका प्रख्यात अभिनेता पोइटियरको निधन

100

काठमाडौं । अस्कर अवार्ड पाउने काला जातिका पहिलो कलाकार सिड्नी पोइटियरको निधन भएको छ। लामो समयदेखि अस्वस्थ्य रहेका उनको शुक्रबार निधन भएको हो। उनी ९४ वर्षका थिए।

सिड्नी हलिउडमा काम गर्ने काला जातिका कलाकारहरुमा अग्रस्थानमा पर्छन्। हलिउडको पहिलो काला जातिलाई मुख्य पात्रको रुपमा लिइएको फिल्ममा उनले अभिनय गरेका थिए। सन् १९६३ मा प्रदर्शनमा आएको फिल्म ‘लिलिज अफ द फिल्ड’का लागि उनलाई अस्कर अवार्ड समेत दिइएको थियो, जुन काला जातिका कलाकारले पाएको पहिलो अस्कर अवार्ड थियो।

उनलाई उत्कृष्ट अभिनयका लागि अवार्ड दिइएको थियो। मुख्यगरी नश्लमा आधारित फिल्ममा अभिनय गरेका पोइटियरको कामले अमेरिकासँगै हलिउडमा नश्लभेदी अवस्थालाई परिवर्तन गर्न साथ दिएको थियो। काला जातिले सिनेमामा काम गर्ने अवसर नै नपाउने अवस्थामा उनले मूल अभिनेताको रुपमा काम गरेका थिए।

त्यसपछि पनि उनले काला जातीका मानिसको पक्षमा र सिनेक्षेत्रमा उनीहरुको अधिकारका लागि काम गरे। उनले १९५० देखि १९६० सम्म गरेका सिनेमा र अभिनयले काला जातिका मानिसहरु गोरा जातिको नोकर हुने मात्रै नभएर अन्य पेशामा पनि हुन्छन् भन्ने बुझाउन सहयोग गरेको थियो।

सिड्नी ‘लिलिज अफ द फिल्ड’सँगै ‘टु सर, विथ लभ’, ‘इन द हेड अफ द नाइट’, ‘द ज्याकल’, ‘द डिफिएन्ट वान्स’लगायतका फिल्मका लागि चर्चित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here