आम नागरिकलाई बुस्टर डोज उपलब्ध गराउने

131

काठमाडाैं ।  स्वास्थ्य मन्त्री विरोध खतिवडाले माघको दोस्रो हप्तामा ६० वर्ष माथिका र त्यसपछि आम नागरिकलाई बुस्टर डोज उपलब्ध गराउने जनाएका छन्।

बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी गराए ।

कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन्।

कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि उनले आग्रह गरे।  मन्त्री खतिवडाले भने, ‘स्वास्थ्य मापदण्ड अपनाउने भनेर जुन कोरोनाको बेला विभिन्न ढंगले प्रचार गरेका थियौं। अहिले पनि त्यसलाई हामीले लापरबाही नगरी होसियार हुनुपर्छ। त्यो भनेको मास्क लगाउने, स्यानिटाइजर गर्ने, दूरी कायम गर्ने, अनावश्यक भेटघाट नगर्ने, त्यसलाई सम्पूर्ण नागरिकहरूले पालना गर्नुपर्छ। पहिलो र दोस्रो डोज खोप लगाइदिनुहोस्। सरकारले निःशुल्क रूपमा विभिन्न स्थानबाट सहज हुनेगरी दिइरहेको छ, त्यो लगाए तेस्रो भेरियन्टबाट बच्न सकिन्छ।’

जिल्लासँग नजिक अस्पताल, स्वास्थ्य केन्द्रमा खोप पाइने उनले जानकारी दिए। ‘तेस्रो कुरा ओमिक्रोन भाइरस आएको छ, त्यसको लागि नेपाल सरकारले तेस्रो डोज आवश्यक पर्छ भनेको छ, त्यसलाई बुस्टर भनेर हल्ला गरिएको छ, त्यो दिन हामी तयार छौं र हामी माघ पहिलो हप्ताबाट फ्रन्टलाइनर्सहरूलाई दिन सुरू गर्छौं। स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षा निकायका कर्मचारी, निजामती कर्मचारीलाई दिनेछौं। त्यसपछि दोस्रोमा ६० वर्ष माथिकोलाई दोस्रो हप्तामा सुरू गर्दैछौं। त्यसपछिको तेस्रो, चौथो हप्ताबाट पहिलो, दोस्रो डोज लगाएको जसरी नै आम रूपमा लगाउने छौं।’

मन्त्री खतिवडाले स्वास्थ्य केन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे। कोरोना खोप लगाउन अस्पतालमा भिड भइरहेको प्रसंगमा मन्त्री खतिवडाले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भीड हुन नदिने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here