मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक

159

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताएका छन्। यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने उनको भनाइ छ।

माघे संक्रान्ति एवं थारु समुदायको माघीको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले आफ्नो मौलिक परम्परा र संस्कृति अनुरूप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन हुनु आफैंमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रूपमा रहेको बताए।

यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै उनले नेपाल भौगोलिक एवम् सांस्कृतिक विविधताले भरिएको मुलुक भएको स्मरण गरे।

शुभकामना सन्देशमा भनिएको छ, ‘यी चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एकआपसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका पनि छन्। नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वलाई आधार स्तम्भका रूपमा लिन सकिन्छ।’

विश्वभर पुनःफैलिएको कोरोना भाइरसको महामारीका कारण हामीले आफ्ना पर्वलाई उत्सवका रूपमा मनाउन नसकेको भन्दै उनले महामारीबाट आफू, आफ्नो समाजलाई सुरक्षित गर्न र स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गर्न आग्रह गरेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here