
काठमाडौँ । कोरोना खोपको बुस्टर डोज सोमबारदेखि काठमाडौंका १७ स्थानमा लगाउन पाइने भएको छ। बुस्टर डोज अहिलेका लागि अग्रपंक्तिमा काम गर्नेहरुका लागि उपलब्ध हुनेछ।
काठमाडौँमा आइतबारदेखि नै बुस्टर डोज लगाउने भनिए पनि सोमबारदेखि मात्र लगाइने भएको हो।
अहिले खोप सञ्चालन भइरहेका काठमाडौँ जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए। जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको काफ्लेले जानकारी दिए।
बुस्टर डोज लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ।
काठमाडौँका आर्मी अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथली, टेकु अस्पताललगायत स्थानमा बुस्टर डोज लगाइनेछ।

















