नेपाल भारत सीमा नाकाहरुबाट फैलिएको संक्रमणले देशलाई नै समस्यामा फसाउने संकेत

70

-राज्यलक्ष्मी शाक्य

मंत्री र पार्टीका शीर्ष नेताहरु नै यसपटक कोरोना संक्रमणको पहिलो निसाना बनेका छन् । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको ‘हटस्पट’ बन्ने सम्भावना बढेको छ। चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि सिंहदरबार काेराेना संक्रमणकाे हटस्पट बन्ने सम्भावना बढेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ। प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए।

थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) का प्रमुख पनि हुन्। उनलाई कोरोना भएपछि सिसिएमसिसीको बैठक नै बस्न सकेको छैन।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ। संक्रमित सचिवहरू होम आइसोलेसनमा छन्।

सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पिसिआर परीक्षण गरेको छ। प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ।तर, सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भनेर एकीकृत तथ्यांक छैन।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार कोरोना संक्रमण भएका कर्मचारीलाई कोभिड काज बिदा दिने गरिएको छ। यो बिदा बढीमा १४ दिन हुन्छ।

यसैबीच नेपाल भारत सीमा नाकाहरुबाट फैलिएको संक्रमणले देशलाई नै समस्यामा फसाउने संकेत भएको छ । रूपन्देहीको बेलहियामा पछिल्लो केही दिनयता गरिएको परीक्षणका क्रममा कोभिड–१९ संक्रमितको संख्या हरेक दिन बढ्दो छ।बेलहिया नाकाबाट नेपाल भित्रिनेमध्ये २० प्रतिशतसम्ममा कोरोना संक्रमण देखिने गरेको स्थानीय प्रशासनले जनाएको छ। १५ दिनअघि बेलहिया नाकाबाट नेपाल भित्रिने करिब दुई प्रतिशतमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। यो संख्या बढेर २० प्रतिशतसम्म पुगेको छ।अहिले बेलहिया नाकाबाट नेपाल प्रवेश गर्नेमध्ये १५ देखि २० प्रतिशतलाई कोरोना संक्रमण देखिएको बेलहियास्थित हेल्थ डेक्सले जनाएको छ। गत आइतबारसम्म बेलहिया नाकाबाट नेपाल भित्रिएका २२४ जनाको एन्टिजेन माध्यमबाट कोरोना परीक्षण गर्दा ३१ जनामा संक्रमण पाइएको बेलहिया हेल्थ डेक्सका इन्चार्ज लालमोहन चौधरीले जानकारी गराएका छन् ।

यसअघि शनिबार ३१८ जनाको परीक्षण गर्दा ६० जनामा पोजेटिभ देखिएको थियो। शुक्रबार १८ प्रतिशत र बिहीबार २० प्रतिशतमा संक्रमण देखिएको थियो। संक्रमणदर बढिरहे पनि सीमामा संक्रमितलाई निगरानीमा राख्ने कुनै संरचना छैन। सरकारले सम्भावित संक्रमितलाई राख्न भनी होल्डिङ सेन्टर वा आइसोलेसन कक्ष बनाउने योजना अघि बढाए पनि त्यस्ता संरचना बनेकै छैनन्।

संक्रमितहरुलाई उनीहरुको स्थायी ठेगाना रहेको स्थानीय तहसँग समन्वय गरेर घर पठाउने गरिएको छ। जबकि सरकारले ५ वैशाखमै नेपाल भारत सीमा नजिक ८ र उपत्यकाका दुई ठाउँमा १०००–१००० जना क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गर्दै १३ वैशाखमा यस्ता होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो। तर अहिलेसम्म कुनै पनि होल्डिङ सेन्टर बनेर प्रयोग गर्न मिल्ने अवस्थामा छैन।

अधिकांश स्थानमा होल्डिङ सेन्टर निर्माणकै चरणमा रहेको छ। लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र सुठौलीमा एक–एक हजार क्षमता तथा बाँकेको जमुनाह नाकामा १५०० जना अटाउने होल्डिङ सेन्टर बनाउने सरकारको घोषणा थियो। तर कुनै पनि बनिसकेका छैनन्। रूपन्देहीमा भैरहवाको बसपार्क नजिक सिद्धार्थ नगरपालिकाले बनाएको आइसोलेसन २५ बेडको मात्र छ। अहिले यसलाई प्रयोगमा ल्याएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए। नेपालगञ्ज र बीरगञ्ज नाकाहरु पनि अनियन्त्रित भएका छन् । नपाल पूर्ण रुपमा संक्रमित बन्ने खतरा उत्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here