अफ्रिकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा गाम्बिया र क्यामरुन भिड्ने

81

काठमाडौं । पहिलो पटक प्रतियोगिता खेलेको गाम्बियाले सोमबार राति गिनीलाई २–१ ले हराउँदै अफ्रिकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

गाम्बियाको जितमा बोलोग्नाका फरवार्ड मुसा बारोले ७१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले युसुफ बोबको पासमा गोल गरेका हुन् । गिनीका रक्षक इब्राहिमा कोन्टेले बराबरी गोल फर्काएका थिए । तर, रेफ्रीले त्यो गोललाई अफसाइड घोषित गरिदिएका थिए ।

खेल सकिँदा दुबै टोली दश खेलाडीमा सीमित बनेका थिए । ८७औं मिनेटमा युसुफा निजेले दोस्रो पहेंलो कार्डको सामना गरेपछि गाम्बिया दश खेलाडीमा सीमित भएको थियो । इन्जुरी समयमा कोन्टेले दोस्रो पहेंलो कार्डको सामना गरेपछि गिनी पनि दश खेलाडीमा सीमित भएको थियो ।

गाम्बियाले समूह चरणमा अपराजित रहदै नकआउट चरणमा स्थान बनाएको थियो । गाम्बियाले २००४ को उपाधि विजेता ट्युनेसिया र माउरिानियालाई हराएको थियो । भने मालीसँग बराबरी खेलेको थियो ।

विश्व वरीयाताको १५०औं स्थानमा रहेको गाम्बियाले अब घरेलु टोली क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ । क्यामरुनले गएराति नै कोमोरोसलाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । तर, क्यामरुनको जित भने रंगशालाबाहिर भएको दर्शकको झडपले छायामा परेको थियो ।

रंगशालाबाहिर भएको झडपमा कम्तिमा ६ जनाको मृत्यु भएको बताइएको छ ।  खेलकाे सातौं मिनेटमा नाडजिम अबडोउले रातो कार्डको सामना गरेपछि कोमोरोस सातौं मिनेटमै दश खेलाडीमा सीमित भएको थियो । २९औं मिनेटमा कार्ल टोको इकाम्बिले गरेको गोलबाट क्यामरुनले अग्रता लियो । भिनसेन्ट अबोबाकरले ७०औं मिनेटमा अयोजक क्यामरुनको अग्रता दोब्बर बनाए ।

८१औं मिनेटमा युसुफ एम‘चानगामाले गरेको गोलबाट कोमोरोसले पुनरागमन गर्न खोजे पनि सफल भएन । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here