
भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ। अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले नगरपालिका अब अस्पताल सञ्चालनको तयारीमा लागेको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए।
नगरपालिकाले अस्पताल सञ्चालनसँगै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै चुस्त व्यवस्थापनका लागि केही महिना अगाडि मात्रै टेकु अस्पतालबाट अवकाशप्राप्त विशेषज्ञ डा सागर राजभण्डारीलाई अस्पतालको निर्देशकका रूपमा नियुक्ति दिएर अस्पतालमा काम सुरु गरिसकेको उनले जानकारी दिए।
अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आईसीयू तथा भेन्टिलेटर कक्ष, एचडीयू, ओपिडी, जनरल वार्डलगायतका संरचना निर्माण सम्पन्न भएर अस्पतालको कम्पाउण्डभित्र कालोपत्र गर्ने तयारी भइरहेको अस्पताल निर्माण समितिका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए।
सांसद महेश बस्नेतको सांसद विकास कोष, बस्नेतकै पहलमा केन्द्रीय सरकारबाट आएको ७५ लाख र बाँकी सूर्यविनायक नगरपालिकाको बजेट गरी करिब रु आठ करोडको लागतमा अस्पताल सञ्चालनमा आउन लागेको हो। अस्पताललाई आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि बस्नेतले रु एक करोड ५० लाखको बजेट व्यवस्था गरेका छन्।
नगरपालिकाले वडा नं ५ दधिकोटको स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिरहेको छ। अब जगातीमा नगर अस्पताल सञ्चालन गर्न दधिकोटको सोहीको जनशक्ति र नगरपालिकाका विभिन्न स्वास्थ्यचौकीमा अतिरिक्त सङ्ख्यामा रहेका स्वास्थ्यकर्मी एवं जनशक्तिलाई यहाँ ल्याएर अस्पताल सञ्चालनमा ल्याइने भएको छ। कोरोना सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले नागरिकलाई कोरोना सङ्क्रमणमा शय्या नपाएर भौतारिन नपरोस् र उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याउन लागेको नगरपालिकाले नागरिकका लागि आफ्नै अस्पतालबाट स्वास्थ्य बिमा सेवासमेत दिने भएको छ। रासस

















