अब हुने तीनै तहको चुनावमा सत्तारूढ पाँच दल मिलेर जान्छाैं

111

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब हुने तीनै तहको चुनावमा सत्तारूढ पाँच दल मिलेर जाने जनाएका छन्।

उनले अहिले नै चुनाव हुने अवस्था नरहेको बताए। अध्यक्ष नेपालका अनुसार ०७९ चैतभित्र तीनै तहको चुनाव हुनेछ।

‘चुनाव चैत वा वैशाखमा गर्ने चर्चा भइरहेको छ। ०७४ मा तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो। चुनावपछि जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुन्छ। ०७४ असोजमा चुनावबाट आएकाहरूको कार्यकाल कहिलेसम्म मान्ने, बहस चलेको छ,’ रामेछापका युवाहरूलाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘संविधानमा गाउँ/नगरका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष भनेको छ। उक्त कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गर्नुपर्ने लेखेको छ।’

साेही अनुसार ०७९ को चैतसम्म तीनै तहको निर्वाचन हुने उनले बताए।  साथै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट आशा गर्ने ठाउँ नरहेको दाबी गरेका थिए। ‘प्रतिपक्षबाट आशा गर्ने ठाउँ रहेन,’ उनले भने, ‘हामी लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न, गणतन्त्र बलियो बनाउन र विकासको नयाँ अभियान अगाडि बढाउन चाहेका छौं।’

एमालेले ध्वंश मात्रै गरेको आरोप उनले लगाएका थिए। साथै अध्यक्ष नेपालले अबको चुनावमा सत्तारूढ गठबन्धनका पाँच दल सँगै जाने पनि बताएका छन्। ‘पाँच दल मिलेर चुनावमा जान्छौं,’ उनले भने, ‘कात्तिक, मंसिरतिर केन्द्र, प्रदेश र स्थानीय तहको चुनावमा जान सकिन्छ।’ अहिले सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा सहभागी छन्। आउँदो चुनावमा पनि यो गठबन्धन कायमै राखिने दाबी अध्यक्ष नेपालको थियो।

सत्तारूढ गठबन्धनले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर संविधानअनुसार बनाउने तयारी गरेका छन्। उक्त ऐनमा कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि नै स्थानीय तहको चुनाव हुनुपर्ने उल्लेख थियो। संविधानसँग उक्त कानुन बाझिएकोले संशोधन गर्न केही संविधानविदहरूले पनि सुझाव दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here