काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले अफ्रिकन राष्ट्र मोरिससविरुद्ध हुने दुईवटा मैत्रिपूर्ण खेल घरेलु खेलाडीका लागि फरक अनुभव बटुल्ने अवसर प्राप्त हुने जनाएका छन् ।
शुक्रबार आयोजित प्रि–म्याच कन्फेरेन्समा किरणले इतिहासमै पहिलो पटक अफ्रिकन राष्ट्रसँग खेल्न लागेकाले फरक अनुभव हुने जनाएका हुन् ।
‘इतिहासमै पहिलो पटक अफ्रिकन टिमसँग खेल्न गइरहेका छौँ । त्यसैले मोरिसससँगको खेल हाम्रो लागि एक फरक अनुभव हुनेछ । नेपाली खेलाडीहरुले घरेलु लिग खेलिरहेकाले सबै जना शारीरिक र मानसिक रुपमा फिट रहेका छन्’, उनले भने । नेपालले शनिबार र मंगलबार मोरिसससँग खेल्दै छ।
नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले विगतका गल्तीहरुलाई सुधार गर्दै खेल्ने बताए। ‘मुख्यत यो हामीले एसिया कपको तयारिका लागि खेलेका हौँ। नयाँ खेलाडीलाई अवसर दिइरहँदा पछि राष्ट्रिय टोली दह्रो बन्छ भन्ने आशा गरेका छौंँ’, उनले भने। मोरिससका प्रशिक्षकले भने साढे २ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेपनि शतप्रतिशत तागत लगाएर खेल्ने जनाए । ‘हामीले डिसेम्बरदेखि मात्रै प्रशिक्षण थालेका हौँ । जम्मा ४५ दिन मात्रै तयारीका लागि समय पाएका छौँ’, उनले भने।


















