काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन सम्वाद गरेका छन् ।
सोमबार गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन्।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले गृहमन्त्री खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शित लहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको जनाए ।
‘जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता वितरणको अवस्था र कोभिड–१९को प्रहरीमा र नागरिकमा प्रभावबारे जानकारी लिनुभयो,’ उपरीक्षक तिमिल्सिनाले भने।
तराईका जिल्लाका प्रहरी प्रमुखहरूसँग मन्त्री खाणले सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनबारे पनि जानकारी लिएका थिए।
सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको स्थिति र सिके राउतको आन्दोलनको अवस्थाबारे जानकारी लिएको बताए।
‘जिल्लामा शान्ति सुरक्षाको अवस्था, सिके राउतको आन्दोलन, कोभिड–१९को अवस्था र प्रहरीको रासन भत्ताबारे मन्त्रीज्यूले जानकारी लिनुभयो,’ उपरीक्षक काफ्लेले भने।


















