नेपाली सेनाद्वारा निर्मित बेलीबृजको समुद्‍घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

174

सिन्धुपाल्चोक ।  गत  साउन महिनामा मेलम्ची खोलामा आएको विनाशकारी बाढीका कारण बगाएको सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाँउपालिका वडा नं. ७ स्थित चनौटे-भिरखर्क जोड्ने ट्रस बृज (रातो पुल) रहेको स्थानमा नेपाली सेनाले निर्माण गरेको Matiere Panel Bridge (MPB) को आज मिति २०७८ माघ २२ गते माननीय गृहमन्त्री बालकृष्ण खाँणले समुद्‍घाटन गर्नु भएको छ । समुद्‍घाटन पश्‍चात उक्त बेलीबृज नेपाली सेनाद्वारा सडक विभागलाई हस्तान्तरण गरिएको थियो ।

पुल अभावका कारण उक्त ईलाकामा बसोवास गर्ने स्थानीयवासीहरु प्रभावित भएको हुँदा तत्काल बेलिबृज जडान गर्नका लागि मिति २०७८ साउन २६ र कार्तिक ०३ गते बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकको निर्णय बमोजिम मिति २०७८ कार्तिक ०४ गतेबाट नेपाली सेना परिचालित भई निर्माण कार्य प्रारम्भ भएको थियो । हेलम्बु गाँउपालिकाका अध्यक्षको स्वागत मन्तव्य पश्चात नेपाली सेनाद्वारा बेलीबृज निर्माण सम्बन्धी जानकारी गराईएको थियो भने माननीय गृह मन्त्री खाँणले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उक्त समुद्‍घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा, गृह सचिव टेक नारायण पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव ई. रविन्द्र नाथ श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत अन्य पदाधिकारीहरु, रक्षा तथा गृह मन्त्रालयका सह-सचिवहरु, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, सडक विभागका पदाधिकारीहरु, हेलम्बु गाउँपालिकाको अध्यक्ष, नेपाली सेनाका रथीवृन्दलगायत अधिकृत तथा अन्य सुरक्षा निकायका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

नेपाली सेनाद्वारा निर्माण गरिएका यस प्रकारका विकास निर्माणका कार्यहरुले समग्र देश विकासमा टेवा पुर्‍याउनुका साथै सैनिक-नागरिकबीचको सम्बन्ध अझ सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here