काठमाडौं । भूमिगत समूहको नाममा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेर झापामा आतंक फैलाउने प्रयास भएको छ । लागूऔषध र ठगीमा संलग्न व्यक्तिहरुको समूहले ‘हिमाल सुरक्षा परिषद्’ नामक भूमिगत समूहको नाममा आतंक फैलाएर व्यवसायीबाट चन्दा उठाउने प्रयास गरेको हो ।
१ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरको क्षेत्रीय अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय, झापाको टोलीले यसमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह-२ का सुमनकुमार कार्कीसहित ९ जना छन् ।
मुख्य योजनाकार को हुन् ?
यो समूहले बिर्तामोडमा ९ माघ र दमकमा १३ माघमा प्रेसर कुकर बम जस्तो देखिने वस्तु राखेको थियो । नेपाली सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको थियो ।
हाल फरार रहेका मुख्य योजनाकारले ठेक्कापट्टामा संलग्न गौरादहका कार्कीलाई प्रयोग गरेर असूली धन्दा चलाउने योजना बनाएको अनुसन्धानबाट देखिएको छ । एसपी पोखरेलका अनुसार उनी वैदेशिक रोजगारी सम्बन्धी ठगीमा समेत पक्राउ परिसकेका व्यक्ति हुन् ।
प्रहरीका अनुसार कार्कीको घरबाट ११ साउन २०७८ मा इलाका प्रहरी कार्यालय, दमकले ३० ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको थियो । तर उनी त्यसयता फरार थिए, अदालतबाट वारेन्ट जारी भइसकेको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा कनकाई नगरपालिका-३ का मजदुर ४१ वर्षीय भीष्म थापा, दमक-९, चिया दोकान चोककी ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई नगरपालिका-३ का कुमार भनिने यमदत्त सिटौला र शिवसताक्षी नगरपालिका-१ का ३२ वर्षीय सरुण लिम्बु भन्ने दिलकुमार सामेखामलाई पनि पक्राउ गरेको छ ।
संखुवासभाका २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज-३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादहका ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज-३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई पनि पक्राउ परेका छन् ।
बिहीबार विर्तामोड आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी वसन्त पाठकले विर्तामोडमा शंकास्पद वस्तु राख्न कनकाई नगरपालिकाका थापा संलग्न देखिएको बताए । पेशाले ट्युबेल गाड्ने मजदुर उनलाई मोटरसाइकल दिने प्रलोभनमा प्रेसर कुकर राख्न भनिएको थियो ।
छिमेकी समेत रहेका कोटीहोमका पुजारी सिटौलाले कनकाई नगरपालिकाका थापालाई प्रेसर कुकर राख्न अह्राएका थिए । सिटौला ग्रेटर नेपालको माग राखी शंकास्पद वस्तु प्रेसर कुकर राखेको अभियोगमा यसअघि नै पक्राउ परिसकेका व्यक्ति हुन् । त्यसपछि कार्की ९ माघमा प्रेसर कुकर बोकेर विर्तामोड बस स्ट्याण्डमा पुगेका थिए ।
‘बिहान ३ बजे नै उनले सुरुङ्गाको चारआली चोकबाट शंकास्पद वस्तु र पर्चा ल्याएका रहेछन्,’ पाठकले भने । पक्राउ परेका मध्ये देवी बाँस्कोटा कार्कीका मुख्य सहयोगी हुन् । प्रहरीका अनुसार बाँस्कोटाले झापाको विभिन्न ठाउँमा शंकास्पद वस्तु राख्न केर्खा चोकबाट ४ वटा प्रेसर कुकर खरिद गरेकी थिइन् । उनी चन्दा संकलन गर्ने कार्यमा पनि संलग्न रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेकामध्ये सरुण लिम्बु यसअघि लागूऔषध मुद्दामा ५ वर्ष कैद सजाय पाइ कारागारबाट छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ । उनले ‘हिमाल सुरक्षा परिषद्’ नामक समूहको गतिविधिका लागि झापा र मोरङका विभिन्न स्थानबाट चन्दा संकलन गर्दै आएको प्रहरीले जनाएको छ । लिम्बु दमकमा शंकास्पद वस्तु राख्ने कार्यमा संलग्न रहेको एसपी पोखरेल बताउँछन् ।


















