सुनसरीबाट रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

129

मोरङ – प्रहरीले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई छुटाइदिने प्रलोभनमा ठूलो रकम ठगी गर्ने एक व्यक्तिलाई सुनसरीबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार इटहरी–२० का ३९ वर्षीय जसबहादुर लिम्बूलाई पक्राउ गरिएको हो।

लिम्बू र इटहरी–१२ का भरत चौधरीले न्यायाधीश र प्रहरीसँग निकट सम्बन्ध रहेको जनाउँदै अभियुक्तका परिवारसँग ३३ लाख रुपैयाँ ठगी गरेका थिए। चौधरी भने फरार छन्।

पक्राउ परेका लिम्बू र फरार चौधरीले कर्तव्य ज्यान मुद्दामा तेर्‍हथुम कारागार चलान भएका अभियुक्त दाजुभाइ सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई छुटाउन परिवारसँग सो रकम ठगी गरेका थिए। प्रहरी उपरीक्षक थापाले खनारमा बसोबास गर्दै आएका सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसँग लिम्बू र चौधरीले विभिन्न समयमा रकम लिएको जानकारी दिए। उनीहरुले ताराबाट २०७६ चैतदेखि माघ १५ गतेसम्म सो रकम लिएका थिए। ताराले उक्त रकम सम्बन्धित दुवै व्यक्तिलाई भेटेर र आईएमईमार्फत बुझाएको प्रहरी अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक थापाले बताए।

करिब दुईवर्षको बीचमा रकम लिएर हालसम्म पनि पुरी दाजुभाइलाई कारागारबाट बाहिर निकाल्न नसकेपछि ताराले घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन्।

प्रहरीले लिम्बूविरुद्ध ठगी मुद्दा चलाउने भएको छ। सुनसरी अदालतबाट म्याद थप गरेर लिम्बूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here