काठमाडौं । एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने नेपाल सरकारको निर्णयलाई स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले उल्लेख गरेको छ। फागुन १५ गते प्रतिनिधि सभाले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो।
कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारले आफूलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैं कायम राखेको प्रष्ट भएकोसमेत एमसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘कम्प्याक्टको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न सक्षम बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ।’
‘नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५औं वर्षमा नेपालले अतुलनीय परिवर्तनहरू देखेको छ। एमसीसी र अमेरिकी जनता यी परिवर्तनहरूमा नेपालको साथमा उभिएका छन् र देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरू र थपमा सहयोग गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ।


















