काठमडौं । सरकारले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले रिक्त विशेष अदालतको अध्यक्ष र सदस्यमा न्याय परिषद्ले गरेको सिफारिसलाई अनुमोदन गरेको हो।
विशेष अदालतको अध्यक्षका लागि उच्च अदालत पाटनमा दरबन्दी भइ हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा रहेका न्यायाधी पौडेललाई नियुक्त गर्न सिफारिस गरिएको थियो।
यस्तै, सदस्यका लागि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुसी प्रसाद थारुको नाम सिफारिस गरिएको थियो।
सरकारले परिषद्को सिफारिसमा राजस्व न्यायाधीकरण काठमाडौंको कानुन सदस्य एवम् अध्यक्ष पदमा हाल उच्च अदालत पाटनका न्यायाधीश टेक प्रसाद ढुंगानालाई नियुक्त गरेको छ। लामो समयदेखि उक्त स्थान रिक्त थियो।
नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको भोलिपल्ट उनीहरुको सरुवा भएको थियो।
यो आदेश भएको भोलिपल्टै बसेको न्याय परिषद्को बैठकले विशेषका अध्यक्ष प्रेमराज कार्की तथा सदस्य (न्यायाधीश)हरु बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको सरुवा गरेको थियो। एकैपटक अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएपछि विशेष अदालतमा २ जना न्यायाधीश मात्रै रहेका थिए।


















