काठमाडौं । झम्सिखेल युथ क्लबलाई ३-१ अन्तरले पराजित गर्दै श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको उद्घाटन खेलमा भगवतीलाई जित दिलाउन अनिल गुरुङ, रमेश राई र मिलन खड्काले एक-एक गोल गरे । झम्सिखेलका मानकुमार राईले एक गोल फर्काएका थिए ।
अनिलले २४औं मिनेटमा गरेको गोलबाट श्री भगवतीले अग्रता लिएको थियो । झम्सिखेलका मानकुमारले ३७औं मिनेटमा गोल गर्दै पहिलो हाफमा खेल १-१ को स्थितीमा ल्याए । रमेशले ५१औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई २-१ को अवस्थामा पुर्याएका थिए । मिलनले ६३औं मिनेटमा तेस्रो गोल गरेसँगै श्री भगवतीले सहज जित निश्चित गर्यो ।
यसपटक लिगको शीर्ष दुईमा रहने टोली शीर्ष डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् ।


















