मन्त्रिपरिषद्को निर्णय नहुँदा बाहिरी चक्रपथको काम अवरुद्ध

265
काठमाडौं– काठमाडौंस्थित बाहिरी  चक्रपथ आयोजनाको काम अवरुद्ध भएको  छ । मन्त्रिपरिषद्बाट  स्वीकृत समेत  भइसकेको बाहिरी चक्रपथको चोभार–सतुंगल सडक खण्डको विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) तयार भएर पनि  जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्ले निर्णय नगरिदिँदा काममा अवरुद्ध भएको हो ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले जग्गा प्राप्तिका लागि निर्णय गरिदिन शहरी विकास मन्त्रालयमा गत असारमा पत्र पठाएको थियो । तर मन्त्रालयले जग्गाका लागि आवश्यक प्रक्रिया पूरा नगरिदिँदा बाहिरी चक्रपथ निर्माणको काम अल्मलिएको प्राधिकरणले जानकारी दिएको छ ।
उपत्यका विकास प्राधिकरण अन्तर्गत बाहिरी चक्रपथ निर्माण आयोजनाका प्रमुख दिलिप भण्डारीले जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्ले गत असारमा निर्णय गरेको तर, उक्त निर्णय पूर्ण नभएपछि काम रोकिएको जनाए ।
मन्त्रिपरिषद्ले ‘जग्गा प्राप्ति ऐनअनुसार जग्गा प्राप्ति गर्नुपर्ने’ निर्णय गरेको तर निर्णयमा ‘जग्गा प्राप्ति ऐन, २०३४’ अनुसार उल्लेख नभएकाले जिल्ला प्रशासन कार्यालयले जग्गा प्राप्तिका लागि सूचना जारी नगरेको भण्डारीले जनाए ।
अब उक्त काम अगाडी बढाउनका लागि मन्त्रिपरिषद्ले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गा प्राप्ति गर्नु भनेर निर्णय गरेपछि मात्रै काठमाडौं जिल्ला प्रशासन कार्यालयले जग्गा प्राप्तिका लागि सूचना जारी गर्ने  भण्डारीको भनाइ छ ।
पहिलो चरणमा चोभार–सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटर सडक निर्माणका लागि डीपीआर मन्त्री परिषद्बाट नै स्वीकृत भएको थियो । उक्त खण्डको डीपीआर स्वीकृत भएपनि जग्गा अधिग्रहणमा समस्या रहेको भण्डारीले जनाए । ‘चोभार–सतुंगल खण्डको डीपीआर स्वीकृत भइसकेको छ,’ उनले भने, ‘जग्गा अधिग्रहणका लागि फाइल मन्त्रालयमा पठाएका थियौं । फिर्ता आएको छैन ।’
जग्गा अधिग्रहणका लागि मन्त्रालयमा पठाइएको फाइल शहरी विकास मन्त्रीले मन्त्रिपरिषद्मा पेश गर्ने र विकास प्राधिकरण फिर्ता पठाएपछि मात्रै जिल्ला प्रशसनले सूचना निकाल्ने छ ।
कुल ६६ किलोमिटर लम्बाई रहेको बाहिरी चक्रपथको १० खण्डमा काम गर्ने योजना अनुसार सडक निर्माणका लागि खण्ड छुट्याइएको छ । आयोजनाका अनुसार आठ खण्डमा डीपीआर तयार भइसक्दा पनि अन्य दुई खण्डमा डीपीआर भएको छैन ।
आयोजनाका अनुसार भाँतेढिकुरो–अरनिको राजमार्ग–नयाँ ठिमी खण्डको ५ दशमलव ६ किलोमिटर सडकको डीपीआर हुन बाँकी रहेको छ । त्यस्तै खड्का भद्रकालीदेखि सनडोल खण्डको ६ दशमलव ५ किलोमिटर लम्बाइको सडकखण्ड पनि डीपीआर गर्न बाँकी रहेको छ ।
आयोजनाका अनुसार डीपीआर तयार भएका सबै खण्डमा नेपाली कम्पनीले नै डीपीआर तयार गरेको हो ।  चोभार सतुंगल सडक खण्डबाहेक अन्यको डीपीआर स्वीकृत नभएको प्राधिकरणले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here