‘मिसन साहसी’को मिसन सबै महिलालाई जरुरी , पुरुष सचेतना प्रशिक्षण तर्फ पनि आवश्यक

229
Nisha Tamang

– निशा तामाङ

समाजमा महिला विरुद्ध हुने हिंसा र विभेद  सर्वत्र चिन्ताको विषय भएको पाइन्छ । महिला विरुद्ध हुने क्रियाकलापबाट बचाउन महिलाहरूलाई सजग र सक्षम बनाउनु पर्ने आवाज पनि सर्वत्र उठिरहेको छ । म स्वयम् एक नारी अथवा महिला भएकाले महिला विशेष समाचार लेख्न पढ्न रुचाउने भएँ नै । अहिले समाजमा भइरहेका महिला हिंसाका खबर सुन्दा र लेख्दा मलाई नमज्जा हुन्छ र अत्यास लागेर आउन थालेको छ । समाजमा महिला हिंसाका घटना कहिले अन्त्य नहुने जस्तो महशुस भइरहेको बेला भर्खरै मात्र सम्पन्न भएकोे एक कार्यक्रम नारी सुरक्षा र सम्मानका लागि राष्ट्रव्यापी ‘मिसन साहसी’ अभियानले भने नारी सुरक्षाका लागि एउटा उर्जा थपिदिएको महशुस भएको छ मलाई ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशभर चलाइरहेको यो अभियानले देशका हरेक कमजोर महिलामा आत्मरक्षाका लागि साहस वृद्धि हुन सक्छ तथा हिंसाको प्रतिकार गर्न सक्नेछन् भन्ने महशुस गरेको छु । पितृ सत्तात्मक सोच रहेको हाम्रो समाजमा महिला सशक्तिकरणका कुरा पनि उठिरहेको पाइन्छ, तर जति गरेपनि महिलाहरू शारीरिक तथा मानसिक रूपबाट समाजमा प्रताडित भइरहेका पाइन्छन् । आफ्नै घर परिवारका पुरुष सदस्यहरूबाटै लैङ्गिक हिंसाको शिकार भएका छन् महिलाहरू ।त्यसबारे मौन रहेर कुनै प्रतिकार गर्न नसकेको अवस्थामा समाजमा नारी सम्मान र सुरक्षाको वातावरण निर्माण हुन सकिरहेको छैन ।

पछिल्लो समय यता देशमा लैङ्गिक हिंसाका साथै महिला तथा बालिका बलात्कारका घटना बढिरहेका छन् । हरेक दिन बलात्कार तथा यौन हिंसाका घटना भइरहेका सुनिन्छन् । भर्खरै मात्र विराटनगरमा ११ वर्षीय बालिकालाई सामुुहिक बलात्कार पछि हत्या गरेर फmालेको पाइयो । कुनैपनि बलात्कार र हत्याका घटनामा पुरुषको हात रहने भएकाले पुरुषमा सचेतना, महिला सुरक्षा र महिलाको अधिकारबारे प्रशिक्षण अभाव भइरहेको जस्तो देखिन थालेको छ भने महिला स्वयम् पनि आफ्नो सुरक्षाका लागि आफैं सक्षम हुनुपर्छ भन्ने लागेको छ ।

महिलाहरू विवाह गरेर अर्काको घरमा जानुपर्ने परम्पराले गर्दा पनि महिलाहरूमा अरुमथि आश्रित हुनुपर्ने बाध्यात्मक अवस्था रहेको छ । महिला हिंसा बढ्नुमा यो पनि एउटा कारण हो जस्तो लाग्छ मलाई, जसले गर्दा महिलाहरूको आत्मविश्वास कमजोर बन्दै गइरहेको हुनसक्दछ ।

देशमा महिला हिंसा बढ्दै गइरहेको बेला महिलासहित बालिका समेत हिंसाकोे शिकार बन्न पुगेका छन् । समाजमा बालबालिका सानो उमेरदेखि नै बलात्कारका शिकार हुन पुग्नु दुर्भाग्यपूर्ण हो । बढ्दाे महिला हिंसाको निराकरण कसरी गर्ने भन्ने बारेमा सरकारी नीति बन्नु आवश्यक छ । हाम्रो देशमा विगत ६ वर्षदेखि महिला नै राष्ट्रपति पदमा आसिन रहेको अवस्था छ । महिला हिंसालाई निर्मूल गर्न नसकिएपनि कम गर्न राष्ट्रपतिबाट पनि कुनै न कुनै अभियान चलाउनु पर्ने हो , तर राष्ट्रपतिबाट यसतर्फ कुनै पहल भएको पाइदैन । नेपाली महिलाहरूका लागि यो दुर्भाग्य नै हो ।

प्रत्येक घरका पुरुषहरूबाट महिला सुरक्षाका निम्ति ‘मिसन साहसी’ अभियान सुरु गराउने हो भने महिला विरुद्ध हुने अपराध अवश्य न्यून हुन सक्दथ्यो ।कुनै पुरुषले आफ्ना दिदीबहिनीप्रति जसरी सकारात्मक सोच बनाउदछ , त्यसैगरी आम महिलाहरूप्रति सोच बनाउन नसक्नुको कारणमा के महिलाहरू दोषी छन् ? के महिलाहरूसाहसी नभएर हो ?अवश्य होइन । महिलाहरू आफ्नो सुरक्षाका निम्ति आफ्नो मनोबल र आत्मविश्वास बढाएर आफैं सक्षम भएपनि अपराधी पुरुषहरूको मनोबलका अगाडि महिलाको केही उपाय चल्दैन ।

त्यसैले महिलालाई सुरक्षा र सम्मान प्रदान गर्न कानुन बनाएर मात्र केही हुनेवाला छैन । महिला विरुद्ध घटना घटिसकेपछि कानूनी कारवाहीले घटनालाई न्यूनीकरण गर्न सकिदैन । महिला घटना हुनै नदिन महिला साहसी हुन जरुरी छ । त्यसका लागि प्रत्येक महिलालाई साहसी बनाउन र आफूभित्रको त्यो साहसलाई आफ्नो रक्षाका लागि सदुपयोग गर्न सक्ने क्षमताको विकासका लागि महिलाहरूलाई अझ सशक्त बनाउदै महिला माथिको दुव्र्यवहार र हिंसा रोक्नका लागि महिला जागरणको ‘मिसन साहसी’अभियान पुरुषहरूलाई समेत सचेत बनाउने प्रशिक्षणतर्फ पनि ध्यानाकर्षण आवश्यक होला जस्तो लाग्छ । यसपटकलाई यत्ति । samarianisu@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here