काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष र पछिल्लो समय उनीसँग असन्तुष्ट बनेका नेता नारायणकाजी श्रेष्ठबीच आज बिहान भेटवार्ता भएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले पार्टीबाट अलग नहुन नेता श्रेष्ठलाई आग्रह गरेका थिए ।
अध्यक्ष प्रचण्ड निवासमा भएको भेटवार्तामा दुई नेताबीच पार्टी एकता कायम गर्ने विषयमा कुराकानी भएको तर छलफल निष्कर्षविहीन भएको स्रोतले जनाएको छ ।
एमसीसी सम्झौताको विषयमा दुई नेताबीच मतभेद हुँदा असन्तुष्टि बढेको छ । एमसीसी संसदबाट अनुमोदन भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीलाई लक्षित गर्दै पार्टीबाट अलग हुनसक्ने अभिव्यक्ति दिएपछि यी दुई नेताबीच दुरी बढेको छ ।
नेता श्रेष्ठ असन्तुष्ट बनेपछि यसअघि प्रचण्ड र नेता वर्षमान पुन उनकै निवासमा पुगेर फकाउने प्रयास गरेका थिए । तर, नेता श्रेष्ठ टसकामस नभएको स्रोतले बतायो ।
नेता श्रेष्ठले बुधबारमात्रै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेटवार्ता गरेका थिए ।
नारायणकाजी पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै बैठक राखेर पार्टीको पछिल्लो अवस्थाबारे छलफलसमेत गरेको श्रेष्ठ निकट एक नेताले बताए ।


















