काठमाडौं । चार दलीय सत्ता गठबन्धनका दलहरूले चुनावी सहकार्यका बारेमा छलफल अघि बढाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसी अनुमोदन भएको चार दिनपछि बसेको गठबन्धन दलको बैठकमा चुनावी सहकार्यका विषयमा पनि कुराकानी भएको छ।
प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्ने विषयमा धर्मराएको स्थितिमा रहेको गठबन्धन एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन भएपछि जोगिएको छ। एमसीसी पास गर्न सहयोग गरेकोमा सत्ता साझेदार दललाई धन्यवाद दिएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अहिलेको स्थितिमा नै गठबन्धनलाई कायमै राखेर जाने मनस्थितिमा देखिएका छन्।
बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा पनि चुनावी सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि आजको बैठकमा स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको जानकारी दिएका छन्। ‘यो गठबन्धन विशेष परिस्थितिमा बनेको हो। अहिले पनि गठबन्धनको आवश्यकता छ,’ बैठकपछि प्रवक्ता कार्कीले भने, ‘यसको आवश्यकता महसुस गरेर नै अगाडि बढ्छ।’
निर्वाचनमा सहकार्य गर्ने विषयमा गठबन्धनमा रहेका दलहरुले आन्तरिक छलफल गर्ने र त्यसपछि धारणा बनाउने उनले बताए। ‘यी विषयमा आ–आफ्ना दलमा छलफल गरेर धारणा निर्माण हुन्छ। त्यसपछि गठबन्धनको पनि बैठक बसेर छलफल हुन्छ,’ उनले भने, ‘दलका आफ्ना सजिलो र अप्ठ्यारो पक्षमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुगिन्छ।’


















