झापा – मानव भएर पनि साङ्लोमा दुई वर्षसम्म बाँधिएका झापाका एक बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
उपचार गर्न पैसा अभावमा करीब दुई वर्षदेखि आफ्नै घरमा साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका–५ का ९ वर्षीय बालक आकाश चौधरीको बिहीबार मेची अभियानले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हो।
अभियानले बालकको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको हो।
अभियानका संयोजक विजय डालमिया नेतृत्वको टोली बिहीबार बिहान बालकको घरमै पुगेर आकाशको उद्धार गरेको हो।
आर्थिक स्थिति कमजोर रहेका सेवुलाल चौधरीका छोरा आकाश साङ्लोमा बाँधिएको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारी पाएलगत्तै डालमिया सम्मलित टोली उनको घर पुगेको थियो।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सञ्जीव शर्मा र उनको टोलीले बालकको उपचार गर्ने जनाइएको छ।
बालकको सम्पूर्ण उपचार निःशुल्क गर्ने गरी व्यवस्था मिलाइएको अभियानका संयोजक डालमियाले बताए। ‘प्रतिष्ठानमा हुने सबै उपचार निःशुल्क हुन्छ,’ डालमियाले भने, ‘बालकलाई सही उपचार गराएर फर्काउने काममा गम्भीर भएर लागेका छौँ।’
मानसिक स्वास्थ्य अवस्था कमजोर रहेका बालकमा अस्वाभाविक परिवर्तन आएपछि फलामे साङ्लोले बाँधेर राखिएको थियो।


















