राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध काठमाडौँमा विरोध सभा सम्पन्न 

72
काठमाडौं ।  संसदबाट राष्ट्रघाती एमसीसी पारित भएको विरोधमा ६ राजनीतिक दल निकट दलित संगठनहरु र २ मोर्चाले शुक्रवार  काठमाडौंको शान्तिबाटिकामा विरोध सभा सम्पन्न गरेको छ । श्रमिक समुदाय मोर्चा नेपाल, नेपाल दलित मुक्ति मोर्चा, जात व्यवस्था उन्मुलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा र जातीय समता समाजकाे आयाेजनामा एमसीसी पारित भएको विरोधमा प्रदर्शनसहित विरोध सभा भएको थियो ।

 

कार्यक्रममा एमसीसी सम्झौतासहित दलित समुदाय माथि भएका विभिन्न प्रकारका उत्पीडन र विभेदका विरुद्ध समेत वक्ताहरुले विरोध मन्तव्य राखेका थिए ।

वक्ताहरुले एमसीसी नेपालको हितमा नभएको र यसले राष्ट्रिय स्वाधीनतामाथि खतरा पुर्‍याउनेमा जोड दिए । नेपाली जनताको भावना विपरित  साम्राज्यवादका दलालहरुले हतियारको बलमा जबर्जस्ती एमसीसी लागू गर्न खोजे जनताले प्रतिकार गर्ने श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय महासचिव त्रिलोचन लोहारले जनाए ।

नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक अमर परियारले एमसीसीले मात्रै नेपालको विकास सम्भव हुन्छ भन्ने नेपालका दलालहरु महाकाली सम्झौता गर्दा पनि बर्षेनी अरबौं आम्दानी हुन्छ भनी जनतालाई यस्तै भ्रममा पारेर राष्ट्रघाती काम गरेको स्पष्ट गरे । जात व्यवस्था उन्मुलन मोर्चा नेपालका केन्द्रीय सदस्य रुपा सुनारले राष्ट्रघाती सम्झौता र विद्यमान जातीय छुवाछूत अन्त्यका निम्ति दलाल संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिए । त्यसैगरी जातीय समता समाजका केन्द्रीय अध्यक्ष राजु विक, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष राजेश विक लगायतले विभिन्न सन्धि सम्झौताका नाममा आफ्नो व्यक्तिगत स्वार्थमा देशलाई साम्राज्यवादीको गुलाम बनाउन खोज्ने दलालहरुबाट नेपाली जनताको मुक्ति र राष्ट्रिय स्वाधीनताको रक्षा नहुने भएकोले सम्पूर्ण देशभक्त जनता एकजुट भएर संघर्षमा जुट्नुपर्ने जनाए ।

कार्यक्रममा सामाना सांस्कृतिक परिवारका केन्द्रीय कलाकारहरुले सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सञ्चालन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव भक्त विश्वकर्माले गरेका थिए । यस किसिमको विरोध सभा आज देशभर सम्पन्न भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here