काठमाडौं । जनयुद्धको जग रोल्पा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन पार्टी अग्रसर भइरहेको बताएका छन् ।
सोमबार रोल्पाको सातदोबाटोस्थित ‘जनयुद्ध स्मृति टावर’ को उद्घाटन समारोहमा रोल्पाले नेतृत्वप्रतिको निष्ठालाई बग्न नदिएको बताउदै आगामी तीनै तहको निर्वाचनमा नयाँ रेकड बनाउन माओवादी लागिपरेको अध्यक्ष प्रचण्डले जनाए।
अध्यक्ष प्रचण्डले भने, ‘सबैलाई थाहै छ, अहिले गठबन्धनको सरकार छ । अघिल्लो साल झण्डै झण्डै प्रतिगमनले संविधानले प्राप्त गरेका उपलब्धिहरु उल्टिने खतरा पैदा गरेको थियो । त्यसविरुद्ध पनि आन्दोलन गर्यौँ र सफल भयौँ । अहिले गठबन्धन टुटाउन चलखेल भइरहेको छ । तर, हामी दृढताका साथ गठबन्धनलाई कायम राख्ने र आगामी निर्वाचनमा नयाँ रेकड बनाउनुपर्छ भन्ने मान्यता बोकेर अघि बढ्नुपर्छ ।’
अध्यक्ष प्रचण्डले यसअघिका निर्वाचनमा पनि रोल्पाले आफ्नो पहिचान गुम्न नदिएको जनाए । अहिले देशलाई प्रतिगमनतिर लैजाने षड्यन्त्रलाई परास्त गरेर रोल्पामा लालकिल्ला गाड्ने पनि पनि प्रचण्डले जनाए।
उनले भने, ‘सबै निर्वाचनमा रोल्पाले आफ्नो पहिचान गुमाउन दिएको छैन । नेतृत्वप्रतिको निष्ठालाई बग्न दिएको छैन । आगामी निर्वाचनमा पनि रोल्पाले महान शहिद र बेपत्ता योद्धाहरुलाई सम्झिँदै देशलाई प्रतिगमनतिर लैजाने षड्यन्त्रलाई परास्त गर्दै र फेरि पनि रोल्पालाई लालकिल्लाको रुपमा कायम गर्नेछ । सबै राजनीतिक दलसँग सहकार्य गरेर यहाँ माओवादीले ठूलठूला विकास परियोजना ल्याउनेछ । मैले रोल्पालाई सक्नेजति सहयोग गर्नेछु ।’
















