— राज्यलक्ष्मी शाक्य
हाम्रो उत्तरतिरको छिमेकी देश चीनको सांघाईमा मानिसहरूको ठूलो सख्यामा कोरोनाभाइरस पैmलिएको छ । कोरोनाभाइरसका नयाँ सङ्क्रमित पुष्टि हुने सख्या निरन्तर रूपमा बढिरहेको पाइएको छ । चीन सरकारले सांघाईमा लकडाउनको घोषणा पनि गरेको छ । सबैभन्दा ठूलो सहर सांघाईमा पनि सङ्क्रमितको सख्या वृद्धि भएसँगै त्यहाँ लकडाउन घोषणा गरिएको हो । दुई वर्षभन्दा अगाडि कोरोनाभाइरसको महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन भएको जनाइएको छ ।
चीनमा कोरोनाभाइरसलाई निमिट्यान्न पार्ने कोसिस भइरहेको छ । संसारमै सबैभन्दा प्रभावकारी कोरोना नियन्त्रणको उपाय अवलम्बन गरेको देशको रुपमा चर्चित रहेको र कोरोनालाई विस्तार हुनबाट रोक्न सफल भएको चीनमा कोरोनाको नयाँ ओमिक्रोन भेरिअन्ट विस्तार भएको भेटिनु चिन्ताको विषय बनेको छ ।
नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिने जनाइएको छ । सांघाई सहरको पूर्वी आधा भागमा बस्ने आधा मानिसहरूलाई पाँच दिनसम्म अर्थात आगामी एप्रिल महिनाको १ तारिखसम्म घरभित्रै बस्न भनिएको छ । यो निक्कै कडा लकडाउन मानिन्छ । अत्यावश्यकीय सेवामा कार्यरतलाई मात्रै काम गर्न बाहिर निस्किन छुट दिइएको छ । र सार्वजनिक यातायातका सेवाहरूमाथि पूर्णरुपमा रोक लगाइएको छ । उद्योग तथा कम्पनीहरूले पनि आफ्नो काम स्थगित गर्नुपर्ने आदेश जारी गरिइएको छ । सबैले कार्यालयबाटै काम गर्नुपर्ने जनाइएको छ । सांघाईको पश्चिमी आधा भागमा भोलि शुक्रवारदेखि लकडाउन गरिने जनाइएको छ । ठाउँ—ठाउँ छुट्याएर मानिसहरूको ठूलो संख्यामा कोरोना परीक्षण गरिँदैछ र सङ्क्रमण देखिनेहरुलाई अस्पताल वा क्वारन्टिनमा पठाउने गरिएको छ ।
चीनको अत्यन्त महत्वपूर्ण व्यापारिक केन्द्रका रुपमा रहेको झण्डै एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरको सामना गरिरहेको छ । यद्यपि त्यहाँ देखिएको सङ्क्रमितको संख्या केही अन्तर्राष्ट्रिय मापदण्डले तोकेभन्दा धेरै नरहेको जनाइएको छ । तर अढाई करोड जनसंख्या रहेको यो सहरमा सरकारी अधिकारीहरूले अर्थतन्त्रमा असर पर्न नदिन धेरै कोसिस गरिरहेका छन् । गत शनिवार मात्र त्यहाँ महामारीका सुरुका दिनमा देखिए यताको उच्च संख्यामा सङ्क्रमित देखिएका छन् । अधिकारीहरूले लकडाउनसम्बन्धी सुझावहरू ‘वीच्याट’ मा प्रकाशित गरेका छन् ।
महामारीका बेला गरिएका अन्य लकडाउनले चिनियाँ प्रान्तहरूमा असर परेको भए पनि मानिसहरूलाई त्यही क्षेत्रहरूभित्र यात्रा गर्न दिइएको छ । तर सांघाईमा भने जनसङ्ख्या धेरै भएका कारण अहिलेसम्म नै लकडाउन गरिएको सबैभन्दा ठूलो सहर यही बनेको छ । केही दिनअघिमात्रै अधिकारीहरूले सांघाई धेरै ठूलो रहेको र लकडाउनका लागि धेरै महत्वपूर्ण रहेको जनाएका थिए ।
चीनमा हालैका दिनमा कोरोनाभाइरस सङ्क्रमितको संख्या बढिरहँदा त्यसले चीनको शुन्य कोभिड नीतिलाई ठूलो चुनौती दिएको छ । छिटो सर्ने तर कम घातक हुने ओमिक्रोन भेरिअन्टको प्रकृतिले गर्दा शुन्य कोभिडको रणनीति दीर्घकालका लागि टिकाउ हुन्छ भन्ने प्रश्न पनि उब्जाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले गत आइतवार घरेलु स्तरमा सङ्क्रमित हुनेको नयाँ संख्या ४ हजार ५ सय भन्दा बढी रहेको जनाइएको थियो । यो छिमेकी देशमा देखिएको लहर नेपालमा पनि आउन सक्छ । समयमै सचेत बन्न जरुरी छ ।


















