नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक निर्वाचन परिणाम माओवादीको पक्षमा बढी आउने दाबी गर्नु भएको छ । के कारणले माओवादी केन्द्रलाई जनताले मत दिने ? प्रचण्डले यो कुरा खुलाउन सक्नु भएको छैन । तर उहाँले यसपटक अरु दलहरुले जालझेल गर्न नपाउने भएकाले आफ्नो पार्टीको पक्षमा बहुमत आउने तर्क गर्नु भएको छ । उहाँको तर्क जनताले पत्याउन सकेका छैनन् । प्रचण्डले यसअघि अनेक जालझेल गरेर अन्य पार्टीले निर्वाचनको परिणाम हात पारेको र यसपटक निर्वाचनको नतिजा सुल्ट्याइने घोषणा गर्नु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका युवाहरूलाई पार्टी प्रवेश गराउँदै देशभर युवाहरूको पार्टीमा आकर्षण भइरहेको दावी प्रचण्डले गर्नु भएको छ । यस्तै दावी केपी ओलीले पनि गर्दै आउनु भएको छ । माधव नेपालले पनि यस्तो दावी धेरै पटक दोहो¥याउनु भएको छ । नेपाली कांग्रेसका नेताहरुले पनि आफ्नो पार्टीमा प्रवेशको लहर बढेको दावी गरिरहेका पाइन्छन् । अझ भन्ने हो भने बाबुराम भट्टाराई उनको जसपामा प्रवेशको लहर बढेको भन्दै उनले पनि भाषण गरिरहेको पाइन्छ । तर सबै भन्दा धेरै प्रवेशको लहर राजावादी पार्टी राप्रपामा भइरहेको दृश्य देखाउँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रवादी नेताहरुलाई चेतावनी दिइरहेका छन् ।
बिगतका निर्वाचनहरुमा कसले के ग¥यो भन्ने कुरा चितवनको घटनाले पनि स्पष्ट गरेको छ । प्रचण्डकै निर्वाचन क्षेत्रमा मत गणनाका क्रममा भएका गतिविधिहरु चर्चित छन् । प्रचण्ड पुत्री रेणु दाहाललाई बिजयी गराउन गरिएका गतिविधिहरु केपी ओलीका व्यंग्य गर्ने थेगो बनेको सुनिएकै हो । त्यसैले प्रचण्डले जतिसुकै दावी गरे पनि संसदीय निर्वाचनमा धांधली बिना निर्वाचन जित्न सकिदैन भन्ने कुरा स्पष्ट छ ।
निर्वाचन परिणाम माओवादीको पक्षमा पार्न असहज नभएको दाबी प्रचण्डले गर्नु भएको छ । उहाँले माओवादीमा प्रवेश गरेर सचेत युवा वर्गले सही निर्णय लिएको पनि भन्न पछि पर्नु भएन । युद्धकालको माओवादी, युद्धलाई शान्तिप्रकृयामा रुपान्तरित गरिएपछि जनलहर देखिएको माओवादी र हालको माओवादी केन्द्रको अवस्था देखेरै पनि जनताले ‘कठै !’ भन्नु पर्ने अवस्था छ । तर पनि प्रचण्डको घमण्ड अभैm जारी छ ।
प्रचण्डले संसदवाद बारेमा बोलेका अभिव्यक्तिहरु सुन्ने हो भने प्रचण्ड आपैm महान् नेता जस्ता मानिन्छन् । प्रचण्डको आजको कृयाकलाप र आजका उहाँका अभिव्यक्ति सुन्ने हो भने प्रचण्ड बाटो बिराएको, बिचार हराएको, पतन भइसकेको, कसैको दलाल बनिसकेको व्यक्तिको रुपमा मात्र लिन सकिने अवस्था छ । प्रचण्डले स्वीकार गरे पनि नगरेपनि यथार्थ यही हो ।
संसदीय पद्धतिमा लागेका कम्युनिष्ट नेताहरु कोही पनि सुध्रिएर राम्रो काम गर्न सकेको अवस्थामा पाउन सकिदैन । यसैबाट पुष्टि हुन्छ । संसदीय व्यवस्थाबाट देश र जनताका हितमा काम गर्न सकिदैन । यो व्यवस्था विदेशीहरुद्धारा संचालित र विदेशीहरुको स्वार्थमा परिचालित हुने व्यवस्था हो । संसदीय राजनीतिको असली रुप यही हो, जो एमसीसीमा प्रदर्शित भइसकेको छ । प्रचण्डले अभ्यास गरेको १० बर्षे सशस्त्र युद्ध र त्यसपछिका १५ बर्षको संसदीय राजनीतिको अभ्यासबाटै पनि उहाँले बुझ्न सक्नु पर्ने हो, कुन बाटो ठीक ? आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

















