नेदरल्यान्ड्सका प्रशिक्षक भान हाललाई ‘प्रोस्टेट क्यान्सर’

77

एजेन्सी । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस भान हालले आफू क्यान्सर रोगबाट ग्रसित भएको खुलासा गरेका छन् ।

म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक भान हालले आइतबार नेदरल्यान्ड्सको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूले ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेको बताएका छन् ।

७० वर्षीय भान हालले पछिल्लो अन्तर्राष्ट्रिय ब्रेकमा पनि खेलाडीसँग यो कुरा लुकाएको बताएका छन् । ‘‘म यो कुरा खेलाडीलाई भन्न चाहन्नथेँ । किनकि, यस समाचारले खेलाडीको प्रदर्शनमा असर पर्न सक्थ्यो,’’ भान हालले भनेका छन् ।

उनी अहिलो नेदरल्यान्ड्सको प्रशिक्षकका रूपमा तेस्रो कार्यकाल सम्हालिरहेका छन् । सन् २०१४ मा नेदरल्यान्ड्सलाई तेस्रो स्थानसम्म पुरयाउन सफल भान हालले टिमलाई कतार विश्वकपमा स्थान सुरक्षित गराएका छन् ।

‘‘हरेकपटक मैले राष्ट्रिय टोली सम्हाल्दा खेलाडीले पत्तो नपाउने गरी अस्पताल गएको छु । उनीहरूले अझै पनि यो कुरा पत्तो पाएका छैनन् । म स्वस्थ छु भन्ने सोच्छन् । तर, म छैन,’’ भान हालले थपे ।

दुई वर्ष युनाइटेडको प्रशिक्षण सम्हाल्दा क्लबले २०१६ मा एफए कपको उपाधि जितेको थियो । उनले छाडेपछि जोजे माउरिन्होले युनाइटेडको जिम्मेवारी सम्हालेका थिए । भान हालले बार्सिलोना, आयाक्स, एजेड अल्कमार र बायर्न म्युनिखबाट लिग उपाधि जितेका छन् । उनले युनाइटेड, बार्सिलोना, बायर्न म्युनिख र आयाक्सलगायत क्लब हेरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here