निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः ध्यानाकर्षण

132

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा सम्बद्ध सबैमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ती सार्वजनिक गर्नुहुँदै सो ध्यानाकर्षण गराउनुभएको हो ।

“निर्वाचन आचारसंहिता २०७८ प्रति सवै राजनीतिक दलले प्रतिबद्धता जनाएको हँुदा पार्टीको झण्डा र चुनाव चिन्ह तोकिएको आकारभन्दा ठूलो हुन नपाउने स्पष्ट व्यवस्थालाई राजनीतिक दल र उम्मेदवारबाट पूर्ण पालना हुन्छ भन्नेमा आयोग विश्वस्त छ” आयोगको विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन आचारसंहिताले राजनीतिक दलको जुलुस, आमसभामा भाग लिने, प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर, कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था गरेको छ ।

त्यस्तै, उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३×३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्हबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्यदृश्य सामग्री बजाउन नहुने आयोगले सचेत गराएको छ । निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने प्रावधान निर्वाचन आचारसंहितामा उल्लेख छ ।

राजनीतिक दल तथा नेताहरुबाट आचारसंहिता उल्लंघन हुन थालेपछि निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि सबै राजनीतिक दल, नेता, कार्यकर्ता एवम् सम्बद्ध सबैलाई निर्वाचन आयोगले पुनः स्मरण गराएको प्रवक्ता पौडेलले बताउनुभयो ।

“निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि सम्पूर्ण राजनीतिक दल, नेतागण, कार्यकर्ता एवं सम्बद्ध सबैलाई निर्वाचन आयोग पुनः स्मरण गराउँदछ” विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here