झापा । झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्वार सिफारिसमा नपरेपछि एमाले जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेकाे छ ।
मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको जनाएका छन् । ‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरें, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरें, तर पार्टीका केही नेताले मेरो अवमुल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरेें,’ पत्रकार सम्मेलनमा आँसु खसालेका उनले भने, ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’
उनले पार्टीमा जीवन विताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वभाविक भएको भन्दै भने, ‘कसैलाई थपि थपि जिम्मेवारी दिने र कसैलाई अवसरबाट बञ्चिन गर्ने काम एमालेको स्थानीय नेतृत्वबाट भएको छ ।’
पत्रकार सम्मेलनमार्फत एमाले छाडेको घोषणा गरेका उनले स्वतन्त्र बामपन्थीका रुपमा बस्ने तत्काल अरु पार्टीमा नजाने पनि बताए । ६५ वर्षको उनले आफूले सकुञ्जेल वर्गीय जनताको पक्षमा काम गरिरहने बताए । घिमिरेले मेची नगरको मेयर उठ्ने चाहना राखेका थिए । तर एमाले मेची नगर कमिटीले उनको नाम नै सिफारिस गरेको थिएन ।
घिमिरेले गरेको पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस् ।


















