काठमाडौं । श्रीलंकाको अर्थ मन्त्रालयले अन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
अर्थतन्त्र सुधारको माग गर्दै श्रीलंकाको राजधानी कोलम्बोमा गरिएको सरकारविरोधी प्रदर्शन । तस्बिर : एपी
साथै देशको वित्तीय अवस्था थप खस्कन नदिन तथा ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न सरकारले आपतकालीन उपाय अपनाइरहेको बताइएको छ ।
२ करोड भन्दा धेरै जनसंख्या भएको श्रीलंकामा यतिबेला दैनिक उपभोग्य वस्तु पनि प्रवाह हुन सकिरहेको छैन । नागरिकहरू भने दैनिक रुपमा सडकमा उत्रिएर सरकारको विरोध गरिरहेका छन् ।
मंगलबार विदेशी ऋण नतिर्ने आशयसहित अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई लिएर टिकाटिप्पणी भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएएमएफ) ले अनुदान घोषणा गर्नुअघि नै श्रीलंकाले यसरी ऋण नतिर्ने जनाएको हो ।
श्रीलंकाले हाल ठूलो मात्रामा आयात रोक्नुका साथै विदेशी मुद्रा सिञ्चिती जोगाउने उपाय खोजिरहेको जनाएको छ । अर्थशास्त्रीहरूले भने सरकारको व्यवस्थापकीय क्षमता कमजोर हुँदा यस्तो अवस्था उत्पन्न भएको टिप्पणी गरेका छन् ।

















