काठमाडौं / स्थानीय निकायको चुनाव निकट आइरहेका बेला संसदवादी दलहरुबीच घम्साघम्सी चलिरहेको छ । पार्टी परिवर्तनको लहर पनि चलिरहेको छ । खर्च गर्ने प्रतिस्पर्धा चलिरहेको छ । उम्मेदवारको टिकट वितरणका लागि लाख-करोडका लेनदेन र मोलमोलाइ चलिरहेका छन् । संसदीय राजनीतिको यस्तो घीनलाग्दो गतिविधिबीच आमूलपरिवर्तनका लागि बन्दूक उठाएर तीन वर्षसम्म अभ्यास गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि संसदवादमा पतन भयो भन्ने चर्चा चलिरहेकै बेला सो पार्टीका महासचिव विप्लवले यो दलाल पुजीवादी संसदीय व्यवस्थालाई आफ्नो पार्टीले कहिल्यै पनि स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।
गत चैत २४ गते जनआन्दोलन दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले दलाल संसदीय व्यवस्था अन्त्य नभएसम्म नेपाली जनताले शुखको श्वास नफेर्ने भन्दै यसको अन्त्यका लागि आफूहरु निरन्तर जुनसुकै मोर्चाबाट पनि लड्न तयार रहेको स्पष्ट पारेका छन् ।
महासचिव विप्लवले भने– ‘हामी झुकेका छैनौं र झुक्ने पनि छैनौं, आज पनि हामीलाई विभिन्न घेराबन्दी गरिदैछ । हामी जहिलेसम्म रहन्छौँ, तहिलेसम्म नेपाली जनताको अधिकारका लागि, नेपाल देशको स्वाधीनताको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
चुनावको प्रसंगमा बोल्दै महासचिव विप्लवले यो संसदको चुनाव होइन जनमत संग्रहमार्फत व्यवस्थाको चुनाव गर्न आफुहरु तयार रहेकोमा पनि जोड दिए । यो संसदको चुनाव लुटेराहरुको चुनाव भएको भन्दै महासचिव विप्लवले प्रधानमन्त्री शेर बहादुर देउवासँग हिम्मत भए व्यवस्थाको चुनाव गर्न चुनौति पनि दिएका छन् ।
दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भन्ने विषयमा जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिऊँ भनेर आफुहरुले एक वर्ष अगाडिदेखि भन्दै आएको पनि महासचिव विप्लवले स्मरण गराए ।
आगामी स्थानीय निर्वाचनमा गाउँगाउँबाट, सहरसहरबाट देश बेच्ने दलालहरु, एमसीसी पास गर्ने दलका नेताहरूलाई लखेट्न जनतालाई आह्वान गर्दै महासचिव विप्लवले भने– ‘यदि सक्नुहुन्छ यो संसदीय व्यवस्थाको भण्डाफोर गर्नुस् । अहिले हाम्रो पार्टीले एउटा ढोका खोलेको छ — सक्नुहुन्छ संघर्ष गर्नुस्, भोट नहाल्नुस् यदि सक्नुहुन्न दलालहरुलाई, ठेकेदारहरुलाई, देश बेचुवाहरुलाई भोट नहाल्नुस्, नजिताउनुस् बरु भोट हाल्नै परे एउटा सुकुम्बासीलाई दिनुस्, देश बेच्न नदिने र एमसीसी लागू हुन नदिने उम्मेद्वार खडा गर्नुस्, लड्नुस् तर दलालहरुलाई भोट नदिनुस्, लखेट्नुस् ! हाम्रो पार्टीले यो अपिल गरेको छ ।’
यो देशमा जनता धेरै चोटि लडे तर जनताले आफ्नो असल प्रतिनिधि बनाउन अहिलेसम्म नपाएकोमा विप्लवले दुखेसो पनि पोखे । उनले भने, ‘किसानको नाराले, सुकुम्बासीको नाराले, मतले जितेर जान्छ तर मन्त्री भएको भोलिपल्ट, सांसद भएको भोलिपल्ट सुकुम्बासीको घरमा डोजर लगाउँछ, भ्रष्टाचार गर्छ, तस्करी गर्छ, दलाली गर्न थाल्छ, देश बेच्नसम्म पनि पछि पर्दैन । भ्रष्टाचार, महङ्गी र राष्ट्रघातका विरुद्ध आन्दोलन गर्नेलाई डण्डा बर्षाउन पनि पछि पर्दैन । यो व्यवस्था लुटेराहरुको शासन व्यवस्था हो ।’
महासचिव विप्लवले यो दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण देशले ठूल्ठूलो संकट भोग्न परिरहेको खुलासा गर्दै अहिले दलालहरुको लाचारीका कारण नेपाली जनताले अस्वीकार गरेको एमसीसी नेपालमा लादिएको स्पष्ट पारे । एमसीसी नेपालमा अजिङ्गरको रूपमा पस्न खोज्दैछ —महासचिव विप्लवले भने । अमेरिकी साम्राज्यवाद एमसीसीमार्फत नेपाललाई निल्न खोज्दैछ । कथित सांसदहरु व्यापारी भएर कानुनी रुपमा देश बेच्न खोजेपनि कानुन भन्दा शक्तिशाली जनता छन् जनताले एमसीसी स्वीकार गरेका छैनन् भन्दै विप्लवले देश बेच्नेहरुलाई अस्वीकार गर्न आग्रह पनि गरेका छन् ।
महासचिव विप्लवले जनताको बलले एमसीसी कुनै पनि हालतमा लागु हुन नदिने पनि स्पष्ट पारेका छन् । जनता हेपिएर, थिचिएर, निसास्सिएर, निराश भएर बस्नु हुँदैन भन्दै उनले भने ,‘चैत्र २४ ले पञ्चायत ढल्यो, राजतन्त्र ढल्यो, अब अर्को चैत्र २४ आउनेछ, अर्को दिन आउनेछ बचेको सामन्तवाद, दलाल पँुजीवाद ढाल्नेछ । त्यसको नेतृत्व हाम्रो पार्टीले गर्नेछ, जसले काम गर्छ त्यो खान पाउने दिन ल्याउन खोजेका छौँ, आफैले चलाउने व्यवस्था वैज्ञानिक समाजवाद ल्याइ छोड्ने छौँ ।
नेकपा चितवनका सेक्रेटरी मीन प्रसाद सापकोटाको अध्यक्षतामा भएको जनसभामा नेकपाका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश, नेकपा केन्द्रीय सदस्य एवम् अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द लगायतले मन्तव्य राखेका थिए । जनधारणा साप्ताहिकबाट

















