काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन् ।
भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याए मुलुकलाई नै सिध्याइदिने बताएका हुन् ।
आइतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।
उनले भने, ‘मैले जानेर चाहि दुई पैसा पनि नाजायज ढंगले लिने गरेको छैन । र, भ्रष्टाचार चाहिं मेरो दृष्टिमा र मलाई लाग्दछ–यहाँ यो स्तरकै विद्धानहरु हुनुहुन्छ । त्यो स्तरकै बुद्धिजीविहरु हुनुहुन्छ ।भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनाको कुरा मात्रै होइन । भ्रष्टाचार भनेको चाहिं यो राष्ट्रियतासँग जोडिएको कुरा हो । यो बढदै गयो । यस्तै गरी हामीले खबरदारी गरेनौ भने, यसका विरुद्ध निशाना सोझ्याएनौं भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाई दिन्छ । भ्रष्टाचारको विरुद्ध अभियान छेड्ने संकल्प गर्नु भएको छ ।
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रर्दशनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्याष्त्र हुने गरी कार्टुनहरु बनाउन पनि काटुर्निष्टहरुलाई आग्रह गरे ।

















