एसियनकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार : सुजल श्रेष्ठ

107

काठमाडाैं । जेठ अन्तिम साता हुने एएफसी एसियन कप अन्तर्गत तेस्रो चरणको छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी सुरू गरिसकेको छ। प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले पहिलो दिन शुक्रबारको अभ्यासपछि एसियन कपमा छनोट हुने नेपालको कुनै सम्भावना नभएको बताएका थिए।

शनिबारको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका खेलाडीहरूले भने उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्। छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।

नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्। नेपाली टिमका डिफेन्डर रोहित चन्दले छनोटमा उत्कृष्ट प्रदर्शन गर्नका लागि योजनाबद्ध तरिकाले तयारी गरिरहेको बताए।

अर्का खेलाडी सुजल श्रेष्ठले छनोटको सम्भावना कम भए पनि उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार रहेको बताए। यस्तै विशाल राई, अनन्त तामाङ र विशाल श्रेष्ठले पनि अन्तिमसम्म पनि बलिया टिमविरुद्ध नतिजाका लागि लड्ने प्रतिक्रिया दिए।

लामो समयसम्म चोटका कारण मैदान बाहिर रहेका नवयुग श्रेष्ठ टिममा फर्किएका छन्। चोटलाई भुलेर राम्रो खेल्न एसियन कप छनोट प्रतियोगिता अवसर भएको उनको भनाइ छ।

नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टिम

किरण कुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तिमगर ।

दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तमाङ, विशाल राई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here