काठमाडौं । वैश्विक महामारीका बेला अमेरिकी अर्बपतिहरूको सम्पत्ति करिब दुई तिहाइले बढेको छ ।
तर उनीहरूले अहिलेसम्म कर भने तिरेका छैनन् ।
७३५ जना अर्बपतिहरूको सम्पत्ति गत दुई वर्षमा ६२ प्रतिशतले बढेको छ । यो सम्पत्ति ४७ खर्ब अमेरिकी डलर बराबर भएको अक्सफाम अमेरिकाले जारी गरेको रिपोर्टमा उल्लेख छ ।
अर्बपतिहरूको सम्पत्तिमा कुनै कमी नआएको देखिएको बेला साधारण कामदारको आम्दानी १० प्रतिशतसम्म मात्र बढेको छ । तर साधारण कामदारको यो वृद्धि घरभाडा, ग्यास, भोजन र अन्य वस्तुमा भएको वृद्धिले अर्थहीन बनेको छ । साथै स्फीति वृद्धि समाप्त हुने लक्षण देखिएको छैन् । कोभिड महामारीको बन्दाबन्दीमा फसेका धेरै अमेरिकीहरूलाई आर्थिक आधार बनाउन संघर्ष गर्नुपरिरहेको छ ।
हालै प्रोपब्लिकाले गरेको अध्ययन अनुसार मध्यम वर्गका अमेरिकी परिवारलाई संघीय आम्दानी कर १४ प्रतिशत तिर्नु परेको छ । २५ सर्वाधिक धनीले सन् २०१४देखि२०१८सम्म ३.४ प्रतिशत कर मात्र तिरेका छन् । धनीहरूले विभिन्न कारणले थोरै कर तिर्ने भएका छन् । पहिलो कारण भनेको उनीहरूले आम्दानीको ठुलो हिस्सा दर्शाउने गरेका छैनन् । गत वर्ष आन्तरिक राजस्व सेवाले यो कुरा स्वीकार गर्न बाध्य भएको थियो ।
अनुसन्धानकर्ताहरूले स्वीकार गर्दै भने “ एक प्रतिशत सर्वाधिक धनीहरूको स्वामित्वमा रहेको सम्पत्तिको ३६ प्रतिशत संघीय आम्दानी कर भुक्तान हुन नसकेको हामीले अनुमान गरेका छौँ । यसरी भुक्तानी नभएका संघीय राजस्वको रकम वार्षिक १ खर्ब ७५अर्ब अमेरिकी डलरले बढेको छ ।”
आन्तरिक राजस्व सेवाले २५ हजार अमेरिकी डलर वा सो भन्दा तल रहेका न्यून आम्दानी भएका परिवारहरूको लेखापरीक्षणलाई निरन्तरता दिएको छ ।उनीहरूको कर अन्य वर्गका करदाताहरूको भन्दा पाँच गुणा बढी रहेको छ । यो गत महिना द ट्रान्ज्याक्सनल रेकर्डस् एक्सेस क्लियरिङ हाउसको विश्लेषणमा जनाइएको छ ।
केही अमेरिकी राजनीतिज्ञहरूले यस्ता ट्रिक गर्नेहरूको लागि उपाय खोज्नुपर्ने प्रस्ताव गरेका छन् ।
सिनेटर रोन वेडेनले अर्बपतिहरूको पुँजीगत लाभमा कर लगाउने प्रणालीको खोजी गर्नुपर्ने बताए । यसले बर्सेनी ५६ अर्ब अमेरिकी डलर बराबरको राजस्व उनीहरूबाट ल्याउन सकिन्छ । यसले बिरामी बिदा, पारिवारिक स्वास्थ्य बिदा र बालबालिकाहरूको हेरचाहको भुक्तानी गर्न पर्याप्त हुने अक्सफामको अनुमान छ ।
क्यालिफोर्नियाका सांसद अलेक्स लीले एक अर्ब अमेरिकी डलर भन्दा बढी आम्दानी हुनेहरूको सम्पत्ति कर १.५ प्रतिशत लगाउनुपर्ने प्रस्ताव गरेका छन् । क्यालिफोर्नियाले यस्तो कानुन पारित गरे पनि यो सफल हुन सकेन् ।
ठिक यही बेला अक्सफामले बहुराष्ट्रिय कम्पनीहरूलाई वैश्विक न्यूनतम कर बढाइए अर्को ६३ अर्बअमेरिकी डलर प्राप्त हुने जनाएको छ ।


















