झापाको बुद्धशान्तिमा हात्तीसँगै चितुवा आतङ्क

117

झापा । बुद्धशान्ति गाउँपालिका–८ मा चितुवाले  दैनिकजसो पशु चौपाया मार्न थालेपछि स्थानीयबासी त्रसित हुन थालेका छन्।      स्थानीय आदर्श सामुदायिक वनबाट आउने चितुवाले गाउँ पसेर सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन्।

आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलाका अनुसार २ दिनदेखि चितुवाले गाउँ पसेर आतङ्क मच्चाउन थालेको छ। उनले बुधबार राति भोजराज बास्तोलाको बाख्रा मारेको, दीपक बास्तोलाको बाख्रा र देवीप्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताए।

चितुवाले अञ्जु प्रधानको दुई सुँगुर र पदमबहादुर एक्तेनको एउटा सुँगुर मारेको छ। ‘एकातिर हात्तीको पीर छ, अर्कोतिर चितुवाको पनि थपियो,’ उनले भने, ‘ज्यान जोगाउनै गाह्रो भयो।’ चितुवाले गाउँमा दुःख दिन थालेपछि डिजिभन वन कार्यालय र प्रहरी प्रशासनलाई गुहार्दासमेत कोही नआएको उहाँको दुःखेसो छ।

डिभिजन वन कार्यालयका वन अधिकृत ओम भट्टराईले चितुवा नियन्त्रणमा लिन खोर बनाउँदै गरेको बताए। स्थानीयले जानकारी गराएलगत्तै खोरको व्यवस्था गर्न थालेको बताए। उनले भने, ‘तत्काल खोरको व्यवस्था गरेर नियन्त्रणमा लिन्छौँ।’ हाल मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका केही सामुदायिक वनमा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्रले स्वचालित क्यामेरा जडान गरेर हात्ती, चितुवा, बाघलगायतका जङ्गली जनावरको निरीक्षण गरिरहेको छ।

चितुवासँगै हात्ती आतंक लामो समयदेखि सो क्षेत्रमा जङ्गली हात्तीले समेत दुःख दिइरहेको छ। प्रायः बालीनाली पाकेको मौका छोपर गाउँ पस्ने हात्तीले गए राति मात्र स्थानीय कुलप्रसाद पौडेलको पाक्न लागेको मकै खाइदिएको छ। उनको पाँच कट्ठामा लगाइएको मकै खाइदिएको छ भने सावित्रा दङ्गालको मकै र बर्खे धान कुल्चिएर क्षति पुर्‍याएको आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलले जानकारी दिए। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here