काठमाडौं । विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रबिन काफ्लेलाई उम्मेदवार बनाउने भएको छ। त्यसैगरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो।
विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन्। भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पुर्व जिल्ला संयोजक हुन्।
कर्ण २०७४ को प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार थिए। भरतपुरका मेयर उम्मेदवार २८ बर्षिय काफ्ले मेकानिकल इन्जिनियर हुन्। ‘तातोभात अभियान’का योजनाकारमध्येका काफ्ले पनि एक हुन्। ‘तातोभात अभियान’ अन्तर्गत भरतपुरमा कोभिड संक्रमित बिरामीका कुरुवाहरुलाई २८ दिनसम्म निरन्तर नि:शुल्क खाना खुवाइएको थियो।
भरतपुरको उपमेयर उम्मेदवार सापकोटा महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न अभियानमा संलग्न हुँदै आएकी छन्।


















