ऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता

91

काठमाडौं ।  उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रुपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् । लामो राजनीतिक इतिहास बोकेको यस नगरलाई थप समृद्ध बनाउने संकल्प बोकेर उम्मेदवार मतदाताको घरदैल्होमा पुग्दा स्थानीयले विगतमा गरिएका प्रतिबद्धता के कति पूरा भए भनेर  उम्मेदवारसँग जिज्ञासा राखेका छन् ।

त्रिभुवन विश्वविद्यालय नजिकै हुनु, शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति हुन जस्ता कारणले कीर्तिपुरका मतदाता सचेत देखिएका छन् । परम्परागत नेवारी बस्ती र सभ्यतासँग जोडिएको स्थल भएकाले पनि कीर्तिपुरको आफ्नै महत्व र विशेषता छ । भौतिक विकासका दृष्टिले पछाडि परेको भन्दै कीर्तिपुरवासीले स्थानीय तहको निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग जमेर प्रश्न गरेका छन् । भौतिक तथा मानवीय विकासका लागि स्पष्ट कार्ययोजना के छ भनेर उम्मेदवारसँग जिज्ञासा राख्नेमा विजेन श्रेष्ठ पनि एक हुन् ।

राजधानी नजिकको नगरपालिका भएर पनि मानवीय र भौतिक विकासमा पछाडि पर्नुको पछाडि ‘बत्ती मुनीको अँध्यारो’ भने जस्तै त होइन भन्ने जिज्ञासा राखेको जानकारी दिँदै सुष्मलता महर्जनले निर्वाचनमा विजयी हुने उम्मेदवारले नगरवासीको मनोभावनालाई आत्मसात् गर्नुपर्ने बताइन् । निर्वाचित भएर गएपछि जनताको दैनिक समस्यासँग जोडिने जनप्रतिनिधिको खोजीमा देखिन्छन् कीर्तिपुरका मतदाता । पांगा दोबाटोमा भेटिएका स्थानीय मतदाताले एकै स्वरमा भने, “विकास र समृद्धि हाम्रो चाहना हो । जनप्रतिनिधि सेवक बन्नुपर्छ । हामी त्यस्तै उम्मेदवारको पक्षमा छौँ ।” नगरका प्रमुख क्षेत्रमा राजनीतिक दलका उम्मेदवारदेखि समर्थकले आआफ्ना पार्टीको पक्षमा मत माग्ने, केही सिर्जनात्मक ढङ्गले प्रचारप्रसार गरिरहेका भेटिन्छ ।

आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर भएकाले पनि कीर्तिपुरले निरन्तर परिवर्तनको यात्रा तय गरेको छ । नेवार जातिको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर विसं २०५३ चैत १४ गते तत्कालीन आठ गाविस ९लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी० गाभेर गठन गरिएको हो । नगरपालिका ऐन, २०४८ अनुसार स्थापना भएको सो नगर मल्ल कालदेखि नै कला र संस्कृतिले धनी छ ।

आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाइलामा भाग लिँदै आइरहेको छ । लोकतान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनीय भूमिका खेलेको तथ्य कोही कसैले कसी लगाइदिनुपर्ने पनि छैन । व्यावसायिक रुपले पनि यस नगर विभिन्न औद्योगिक कलकारखानाका साथै सडक यातायत, बजारको व्यवस्था, खानेपानी, बिजुली, सञ्चार उपलब्ध छ । नेपालकै सबैभन्दा पुरानो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा छ । कीर्तिपुर सहरको उत्तरमा काठमाडौं महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा बागमती नदी र ललितपुर महानगरपालिका, पश्चिममा चन्द्रागिरि नगरपालिका पर्दछ । यस कीर्तिपुर नगरपालिकाको कूल क्षेत्रफल १४।७६ वर्ग कि।मी। छ ।

कीर्तिपुर नगरमा कीर्तिपुरलगायत पाँगा, चोभार, भाजंगल, टौदह, ट्याँङ्गला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँ बजार र भत्क्यापाटी आदी प्रमुख स्थानका रुपमा परिचित छन् । सहरको अधिकांश भाग कृषि क्षेत्र र जङ्गलले ढाकेको छ । यस नगरमा सडक तथा गल्ली उल्लेखनीय विकास नभएको स्वयं कीर्तिपुर नगरपालिकाले स्वीकार गरेको छ । कालोपत्रे सडक ३५ किलोमिटर, ग्राभेल सडक ४० किलोमिटर र  कच्ची सडक ३५ किलोमिटर छ । नगरपालिकाले काठमाडौं चक्रपथलाई उत्तर पट्टी छोएको छ भने दक्षिणकाली जानेमा एक किलोमिटर भन्दा पनि कम दुरीमा छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक सम्पदाले भरिपूर्ण यस नगरपालिका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धरोहरले सम्पन्न छ । यस नगरका बासिन्दा सबैभन्दा बढी कृषि पेशामा निर्भर रहेको देखिएता पनि अधिकांश ज्याला मजदुरीका अलावा घरेलु उद्योग, पसल९व्यवसाय आदि सञ्चालन गरी जीविकोपार्जन गर्दै आइरहेको पाइन्छ । यो नगर खुल्ला दिसामुक्त, पूर्ण साक्षर र पूणर्खोपयुक्त घोषणा भइसकेको नगरपालिका हो ।

विसं २०४६ को जनआन्दोलनमा कीर्तिपुरको भूमिका महत्वपूर्ण र ऐतिहासिक रहेको तथ्य नेपालको इतिहासमा स्वर्ण अक्षरमा लेखिएको छ । जनआन्दोलन उत्कर्षमा पुगेका बेला विसं २०४६ चैत २० गते चार जनाको शहादत प्राप्त भएको थियो । प्रहरीको गोलीबाट लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जनको शहादत भएको थियो । चुनावी चहलपहल बढेसँगै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आफूलाई श्रेष्ठ सावित गर्ने प्रयास गरिरहेका छन् । RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here