कोराना संक्रमणका बीच चीनमा पाँच दिन श्रमिक दिवसको बिदा !

61

 

–राज्यलक्ष्मी शाक्य

चीनमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पाँच दिनको सार्वजनिक बिदा गरिएको छ । तर, कोरोना भाइरसको महामारीले त्यहाँ सार्वजनिक स्थलहरुमा कडा प्रतिबन्ध कायमै राखिएको छ । बिदामा पनि मानिसहरु रेष्टुरेन्टहरुमा जान पाएनन् । रेष्टुरेन्टमा गएर खान प्रतिबन्ध छ । उनीहरुले खाना पु¥याउन भने पाएका थिए । सार्वजनिक स्थलहरुमा जान कोरोना भाइरसको संक्रमण नरहेको प्रमाण देखाउनुपर्ने नियम बनाइएको थियो ।

बेइजिङ, सांघाईलगायतका ठूला शहरहरुमा कडाई गरिएको थियो, अद्यापि कडाई नै छ । समुदायमा कोरोनाको परीक्षणहरु गरिएका छन् । विद्यालय र ठूलो समुदायमा लकडाउनका असरहरु परेका छन् । तथापि संक्रमण अझै देखिएको छ । बेइजिङमा मानिसहरु खानाको जोहो गर्न दौडिने गरेका छन् । निरन्तर संक्रमित देखिएबाट चीनले बेइजिङ र सांघाई जस्ता शहरहरुका जोखिमयुक्त क्षेत्रमा हिंडडुलको प्रतिबन्ध अझै फुकाएको छैन ।

यसैबीच डेनमार्क कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गर्ने विश्वको पहिलो देश बनेको छ ।  ४८ लाख जनताले खोप लगाइसकेका छन् । कोरोना महामारी नियन्त्रणमा आएको भन्दै डेनमार्कले खोप कार्यक्रम स्थगित गरेको हो ।  डेनमार्कको स्वास्थ्य प्राधिकरणले भनेको छ, ‘वसन्त ऋतुको आगमन भएको छ, डेनमार्कको जनसंख्यामा खोपको कभरेज उच्च छ र महामारी उल्टिएको छ, त्यसैले यो सिजनका लागि हामीले खोप कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छौँ ।’

डेनमार्कमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन् २०२० को क्रिसमसपश्चात थालनी भएको थियो । डेनमार्कमा करिब ४८ लाख जनसंख्यालाई कारोनाविरुद्धको खोप लगाइएको छ । यसमध्ये ३६ लाखजनाले बुस्टर डोज लगाइ सकेका छन् ।

त्यसैगरी दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु दुई दिन अगाडिको तथ्यांक अनुसार  २४ घण्टामा २० हजारभन्दा बढी देखिएका छन् । अघिल्ला दिनहरुको तुलनामा भने यो संख्या घटेको हो । गत शनिबार यहाँ ३७ हजार ७०० भन्दा बढी संक्रमित थिए । योसँगै यहाँ संक्रमितको संख्या १ करोड ७२ लाख पुगेको जनाइएको  छ ।  पछिल्लो समय स्वदेशमै संक्रमित भएका र विदेशबाट आएका व्यक्तिमा संक्रमण देखिएको समाचारमा जनाइएको छ । गत मार्च महिनाको मध्यतिर यहाँ दैनिक दुई लाख भन्दा पनि बढी संक्रमित देखिने गरेका थिए । अहिले भने यहाँ संक्रमितको संख्या घटेको पाइएको छ ।

भारतमा पनि कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । दुई दिन अघि २४ घण्टामा ३ हजार २४६ जना नयाँ कोरोना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । तेस्रो लहर कम हुँदै जाँदा सबै स्वास्थ्य प्रोटोकल अन्त्य भइ जीवन सामान्य रुपमा फर्किँदै गर्दा चौथो लहरको चुनौती देखिएको विज्ञहरुले जनाएका छन् ।  भारतमा सबैभन्दा बढी संक्रमित दिल्लीमा भेटिएका छन्। त्यहाँ १ हजार ५ सय २० जनामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था महामारीकै चरणमा नभएता पनि संक्रमणको जोखिम बढ्न सक्ने खतराका कारण सचेतता जरुरी छ । मानव समुदायले अझै लामै समय यो असहज परिस्थितिको गुलाम भएर रहनुपर्ने बाध्यता देखिएको छ । यो परिस्थिति बाढी पहिरो, आगलागी, आँधी हुरी, भूकम्प आदि प्राकृतिक प्रकोपको जस्तो पनि होइन । कुनै आन्दोलन वा क्रान्तिको समय जस्तो पनि होइन, यसले अप्रत्यासित दुर्घटना निमत्याउन सक्छ भन्ने कुरामा सचेत बन्नु जरुरी छ । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here