सगरमाथा आरोहण सुरु : कामीरिताको २६औँपटक आरोहणको कीर्तिमान

144

काठमाडौं । यस वर्षको वसन्तयामको सगरमाथा हिमाल आरोहण सुरु भएको छ । शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरोमा डोरी टाँग्ने (रोप फिक्सिङ) को काम सफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६औँपटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोडेका छन् ।

यससँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागले वसन्त यामको सगरमाथा आरोहण सुरु भएको जनाएको छ । विभागको पर्वतारोहण शाखाका निर्देशक सूर्यप्रसाद उपाध्यायले यस वर्षको सगरमाथा आरोहण शनिबारदेखि सुरु भएको र अहिले करिब ९० प्रतिशत आरोही सगरमाथाको आधार शिविरमा रहेको जानकारी दिए ।

“सगरमाथामा रोप फिक्सिङको काम सकिएपछि सगरमाथा आरोहणसुरु भयो, कामीरिता शेर्पाले सगरमाथाको २६ पटक आरोहण गरी कीर्तिमान बनाएको भन्ने जानकारी आएको छ, यसबारे विभागले आरोहणकोपूर्ण विवरण प्राप्त गरेपश्चात् प्रक्रिया पुर्‍याएर भेरिफाई गरेपछि मात्रै घोषणा गर्नेर्छाैँ,” उनले भने । सगरमाथा आरोहणका लागि अहिले मौसम अनुकूल रहेकाले सर्वाधिक आरोहण हुने विभागको अनुमान छ ।

सेभेन समिट ट्रेक्स प्रालिबाट गएका ११ शेर्पा आरोहीले सगरमाथाको चुचुरोमा रोप फिक्सिङ गरेका हुन् । शनिबार साँझ ६ः५५ बजे सगरमाथाको चुचुरोमा पुगेर आरोहीले यो वर्षको आरोहण खुलेको सन्देश दिएका थिए ।

विभागको पर्वतारोहण शाखाका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४३ पुरुष गरी कुल ३१६ जनाले आरोहण अनुमति ‘एक्सिपिडिसन पर्मिट’ लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै ३९ करोड ५५ लाख रुपैयाँ बढी रोयल्टी जम्मा भएको विभागको अनुमान छ ।

यस सिजनमा सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि ११३ आरोही समूहका २०० महिला र ७१८ पुरुष गरी कुल ९१८ आरोहीले अनुमति पाएका छन् ।

नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका अनुसार कोभिडपछि पर्यटन क्षेत्रमा छाएको उत्साह र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले यो वर्ष पनि आरोहीबढ्नसक्ने विभागको अनुमान छ । सन् २०२१ मा ४ सय १२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए ।

हालसम्म सगरमाथाको करिब आठ हजार आरोहीले आरोहण गरेको बताइन्छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here